इङ्लिस प्रिमियर लिग

जिजस र जिचेन्कोको आगमनले उत्साही आर्सनल

लन्डन । आर्सनलका प्राबिधिक निर्देशक इडुले च्याम्पियन्स लिगमा स्थान बनाउन नसकेपनि क्लबले नयाँ सिजनका लागि म्यानचेस्टर सिटीबाट ग्याब्रियल जिजस र ओलेक्जेन्डर जिचेन्कोलाई अनुबन्ध गर्न सफल भएको भन्दै उत्साही भएको बताएका छन् ।

साथै उनले आर्सनल राफिन्हा भित्राउने दौडमा भने कहिले नलागेको बताएका छन् । राफिन्हा हाल स्पेनिस ला लिगाको क्लब बार्सिलोनामा गइसकेका छन् ।

आर्सनलले पाँचौ स्थानमा बस्दै सिजनको अन्त्य गरेको थियो । आर्सनल चौथो स्थानको टोटनहमभन्दा दुई अंकले मात्र पछि परेको थियो ।

आर्सनलले जिजस र जिचेन्कोसँगै पोर्टोका फाबियो भियरा, इङल्यान्डका गोलकिपर म्याट टर्नर र साउ पाउलोका विंगर मार्किन्होसलाई पनि अनुबन्ध गरेको छ ।

इडुले आफूहरु यस सिजन च्याम्पियन्स लिगका लागि छनोट नभए पनि खेलाडी अनुबन्धमा भने त्यसको कुनै प्रभाव नदेखिएको बताए ।

‘टोली बलियो बनेको छ’, इडुले भने, ‘केही खेलाडीको इच्छा च्याम्पियन्स लिग खेल्ने हुन्छ र यो स्वभाविक पनि हो । तर यस पटक हामीले भित्राएका खेलाडीले त्यस्तै सर्त राखेनन् । उनीहरुले सहजै हाम्रो प्रस्ताव स्विकार गरे । आशा छ यस सिजन शीर्ष चारमा बस्दै आगामी सिजन च्याम्पियन्स लिगमा स्थान बनाउनेछौ ।'