महिला युरोपियन च्याम्पियनसिप २०२२

इङल्यान्डलाई अवसर

लन्डन । मंगलबार महिला युरोपियन च्याम्पियनसिपको पहिलो सेमिफाइनमा स्विडेनको सामना गर्दा इङल्यान्ड तेस्रो पटक प्रतियोगिताको फाइनलमा स्थान बनाउने लक्ष्यमा हुनेछ ।

प्रतियोगिताको दाबेदार टोलीमा मानिएको घरेलु टोली इङल्यान्ड यसअघि दुई पटक फाइनल प्रवेश गरे पनि उपाधि भने जित्न सकेको छैन । स्विडेन भने सन् १९८४ को विजेता टोली हो ।

इङल्यान्डले समूह चरणमा सतप्रतिशत नतिजा कायम राखेको थियो । यसक्रममा इङल्यान्डले नर्वेमाथि ८-० को रवाफिलो जित निकालेको थियो भने क्वार्टरफाइनलमा स्पेनलाई हराएको थियो ।

‘प्रतियोगिताको सुरुआतबाटै हामीले आफूलाई दाबेदार टोलीको रुपमा उभ्याएका छौ’,इङल्यान्डकी स्ट्राइकर फ्रान फ्रेबीले भनिन्, ‘हामीले अहिले सम्म उपाधि जित्न सकेको छैनौ । स्विडेनमाथिको जितसहित हामी फाइनल प्रवेश गर्नेमा विश्वस्त छौ । हामी घरेलु मैदानमा उपाधि जित्न चाहन्छौ ।’

विश्व वरियताको दोस्रो स्थानको स्विडेनले बेल्जियमविरुद्ध इन्जुरी समयमा गोल गर्दै सेमिफाइनलमा स्थान बनाएको थियो । 

इङल्यान्ड र स्विडेन अहिलेसम्म २६ पटक आमने सामने भएका छन् । यसक्रममा इङल्यान्डले मात्र तीन खेल जितेको छ भने स्विडेनले १५ खेल जितेको छ । युरोपियन च्याम्पियनसिपमा इङल्यान्ड र स्विडेनको यो सातौ भेट हो । सातमध्ये ६ खेल स्विडेनले जितेको छ भने एक खेल इङल्यान्डले जितेको छ ।

स्विडेनले सन् १९८४ मा इङल्यान्डलाई नै हराएर युरोपियन च्याम्पियनसिपको उपाधि जितेको थियो । स्विडेनले महिला युरोपियन च्याम्पियनसिपको उपाधि जितेको त्यो नै एक पटक मात्र थियो ।

त्यसयता स्विडेन सन् १९८७,१९९५ र २००१ मा फाइनल प्रवेश गरे पनि उपाधि भने जित्न सकेको छैन ।

‘यो प्रतियोगिताकै उत्कृष्ट दुई टोलीबीचको भिडन्त हो’, स्विडेनकी स्ट्राइकर कोसोभारे अस्लानीले भनिन्, ‘दुवै टोली आक्रामक रणनितीमा हुनेछन् । घरेलु टोलीविरुद्ध खेल्न सधै कठिन हुन्छ । हामी निकै उत्साही छौ ।’