यु २० साफ च्याम्पियनसिप

उपाधि जित्नेमा विश्वस्त मुख्य प्रशिक्षक केसी

काठमाडौं । नेपाली यु २० पुरुष टोलीका मुख्य प्रशिक्षक मेघराज केसीले तयारी पूरा भएको र उपाधि जित्नेमा विश्वस्त रहेको प्रतिक्रिया दिएका छन् ।

भारतको भुवनेश्वरमा साफ यु २० च्याम्पियनसिप खेल्नुअघि नेपालले आइतबार भएको प्रिम्याच कन्फ्रेन्समा करिब दुई महिनाको प्रशिक्षण गरेकाले युवा टोलीबाट धेरै अपेक्षा रहेको बताए ।

‘नेपालमा मात्र नभई दक्षिण एसियामै उमेर समुहका खासै प्रतियोगिता भएको छैन,’ प्रशिक्षक केसीले भने, ‘अन्य टोलीमा पनि थुप्रै परिवर्तन भएको कारण प्रतिद्धन्दीका विषयमा खासै जानकारी छैन । तर हामी यहाँ जित्न आएका हौं ।’

कोभिड १९ को कारण दुई वर्षदेखि उमेर समूहका प्रतियोगिता नभएका कारण यो पटक खुला प्रतिस्पर्धाबाट खेलाडी छनोट गरिएको थियो ।

यसैगरी कप्तान आयुश घलानले प्रतियोगिताको लागि टिम तयार रहेको र तीन अंकका लागि खेल्ने बताए ।

प्रतियोगिताको पहिलो खेलमा सोमबार नेपालले माल्दिभ्ससँग प्रतिस्पर्धा गर्नेछ । भुवनेश्वरको कालिंगा रंगशालामा हुने खेल नेपाली समयअनुसार दिउँसो ४ः४५ बजे हुनेछ ।

यसैगरी माल्दिभ्सका मुख्य प्रशिक्षक अहमद शाकिरले नेपाली टोली नौलो भएकाले खेल्न कठिन भए पनि टिममा अधिकांश खेलाडी शीर्ष श्रेणीको लिग खेलिरहेको कारण नतिजा आफ्नो पक्षमा आउनेमा आशावादी रहेको बताए ।

यसअघि यो प्रतियोगिता यु १९ र यु १८ उमेर समुहको हुँदै आएको थियो । तर, कोभिडको कारण प्रतियोगिता हुन नसकेपछि सोही प्रतियोगिता यु २० च्याम्पियनसिपको रुपमा खेलाउन थालिएको हो ।

सुरुआती दुई संंस्करणको च्याम्पियन रहिसकेको नेपालले पछिल्लो संस्करणको उपाधि भारतलाई सुम्पिएको थियो ।

प्रतियोगिताको दोस्रो खेलमा नेपालले श्रीलंकासँग जुलाई २७, भारतसँग जुलाई ३१ र बंगलादेशसँग अगस्ट दुई मा खेल्ने तालिका छ ।  राउण्ड रोविन लिगपछि तालिकाको शीर्ष दुई टोलीले अगस्ट पाँचमा उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।