साफ यु २० च्याम्पियनसिप

युवा स्ट्राइकर दीपेश घाइते, साफ च्याम्पियनसिपको टिमबाट बाहिर

काठमाडौं । दक्षिण एसियाली फुटबल (साफ) यु २० च्याम्पियनसिप खेल्न भारतको भुवनेश्वर जाने तयारीमा रहेको नेपाली युवा राष्ट्रिय टोलीका स्ट्राइकर दीपेश राई घाइते भएका छन् ।

तयारीका क्रममा मंगलबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको अभ्यास खेलमा दीपेश घाइते भएका हुन् । नेपाली सेनाको त्रिभुवन आर्मी फुटबल क्लबसँग ३–० को हार भोगेको खेलमा दीपेशको दायाँ कुर्कुच्चामा चोट लागेको थियो ।

घाइते भएपछि उनलाई तत्काल उपचारार्थ बी एण्ड बी अस्पताल लगिएको थियो । प्रारम्भिक चरणको उपचारपछि चिकित्सकहरुले उनले कम्तिमा तीन महिना फुटबल खेल्न नसक्ने बताएका छन् ।

मुख्य प्रशिक्षक मेघराज केसीले सोमबार घोषणा गरेको २३ सदस्यीय टोलीमा उनी मुख्य स्ट्राइकरको भूमिकामा थिए । उनको स्थानमा अर्को खेलाडी ल्याइएको छैन । तथापि टोली शुक्रबार भुवनेश्वर जानुअघि नै उनको विकल्पमा अर्को खेलाडी समावेश गरिसक्ने एन्फाले जनाएको छ ।

नेपालले यु २० साफ च्याम्पियनसिपमा माल्दिभ्स, श्रीलंका, बंगलादेश र भारतसँग प्रतिस्पर्धा गर्नेछ । पाँच टोलीको मात्र सहभागिता रहेको प्रतियोगिताको पहिलो चरण राउन्ड रोबिन पद्दतिमा प्रतिस्पर्धा हुनेछ । पहिलो चरणका शीर्ष दुई टोलीले उपाधिका लागि साउन १८ मा हुने फाइनलमा प्रतिस्पर्धा गर्नेछन् ।