१९औं एसियाली खेलकुद

हाङझोउ एसियाली खेलकुदको मिति घोषणा

काठमाडौं । ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए)ले कोभिड १९ महामारीका कारण स्थगित गरिएको १९औं एसियाली खेलकुद हाङझोउ अर्को वर्ष सेप्टेम्बरमा सुरु गर्ने घोषणा गरेको छ ।

ओसिएले चिनीया आयोजकसँगको सहमतिमा तोकेको नयाँ मितिअनुसार अब १९औं एसियाली खेलकुद हाङझोउमा अर्को वर्ष सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म हुनेछ । यसअघि यही २०२२ सेप्टेम्बर १० देखि २५ सम्म हाङझोउमा एसियाली खेलकुदको सबभन्दा ठूलो मेला गरिने तय थियो ।

कोभिड १९ को विश्वव्यापी महामारीले पिछा नछोडेपछि ओसिए र चिनीया आयोजकले सहमतिमा नयाँ मिति नतोकिकन एसियाली खेलकुद स्थगनको निर्णय गरेका थिए । निर्धारित मितिमा नगर्ने निर्णयसँगै ओसिएको कार्यकारी समितिले गत मे ६ मा नयाँ मिति तय गर्नका लागि विशेष ‘टास्क फोर्स’ बनाएको थियो ।

टास्क फोर्सले पछिल्लो दुई महिनामा चिनीया ओलम्पिक कमिटी, हाङझोउ एसियाली खेलकुद आयोजक कमिटी, चिनीया सरकार र अन्य सरोकारवालाहरुसँगको चरणबद्ध छलफलपछि अन्य ठूला खेल प्रतियोगिताहरुसँग पनि समय नजुध्ने गरि मिति तय गरेको ओसिएले जनाएको छ ।

‘टास्क फोर्सले प्रस्ताव गरेको मिति ओसिएबाट स्वीकृत भइसकेको छ । ओसिए हाङझोउ एसियाली खेलकुद आयोजक कमिटी, चिनीया ओलम्पिक कमिटी, चिनीया सरकार र टास्क फोर्सलाई महामारीका बीच पनि गरेको यो कडा मेहनतका लागि धन्यवाद दिन चाहन्छ,’ ओसिएद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘कठिन समयमा खेलकुद स्थगित गरिँदा धैर्यका साथ प्रतिक्षा गरेकोमा ओसिए राष्ट्रिय ओलम्पिक कमिटीहरु, अन्तर्राष्ट्रिय महासंघहरु, एसियाली महासंघहरु तथा अन्य सरोकारवालाहरुलाई पनि धन्यवाद दिन चाहन्छ ।’

यही वर्षको सेप्टेम्बरका लागि पर्याप्त तयारी नभएका कारण निराश रहेको नेपालले भने १९औं एसियाली खेलकुद सरेपछि राहतको स्वास फेरेको थियो । प्रतियोगिता स्थगित भए पनि नेपालले आफ्नो तयारी भने निरन्तर राख्ने निर्णय गरेको थियो । त्यहीअनुसार एसियाली खेलकुदको तयारीमा रहेका खेलाडीको हालै दोस्रो चरणको छनोट प्रतियोगिता सम्पन्न भएको छ ।

एसियाली खेलकुदमा नेपाल नियमित सहभागि भए पनि अहिलेसम्म स्वर्ण पदक भने जित्न सकेको छैन । यदाकदा प्राप्त हुने रजत र कांस्य पदकलाई नै नेपालले आफ्नो ठूलो उपलब्धिका रुपमा लिँदै आएको छ ।