बार्सिलोना

बार्सिलोनामा पेड्रीले ८ नम्बर जर्सी लगाउने

बार्सिलोना । रक्षक ड्यानी आल्भेसले क्लब छाडेसँगै मिडफिल्डर पेड्रीले बार्सिलोनामा ८ नम्बर जर्सी लगाउने भएका छन् ।

सन् २०२० मा लस पाल्मसबाट बार्सिलोना भित्रिएका पेड्रीले त्यसयता १६ नम्बर जर्सी लगाउँदै आएका थिए ।

बार्सिलोनामा यसअघि ८ नम्बर जर्सी क्लबका पूर्व मिडफिल्डर आन्द्रेस इनियस्टाका कारण चर्चित छ । सन् २०१८ मा इनियस्टाले क्लब छोडेपछि अर्थर र त्यसपछि मिरालेम पियानिचले यो जर्सी लगाएका थिए । त्यसपछि गएको सिजन यो जर्सी भेट्रान रक्षक आल्भेसले पाएका थिए । तर, बार्सिलोनाले आल्भेससँगको सम्झौता नविकरण नगरेपछि पेड्रीले यो जर्सी पाएका हुन् ।

पेड्रीले बार्सिलोनाबाट हालसम्म ७४ खेल खेल्दा ९ गोल गरेका छन् ।