आर्सनल समर्थकसँग विलियनले माफी मागे

लन्डन, (खेलाडी)- क्लबबाट राम्रो प्रदर्शन गर्न नसेकेको भन्दै ब्राजिलका विलियनले आर्सनलका समर्थकसँग माफी मागेका छन् ।

सोमबार आर्सनलले सम्झौता रद्द गरेसँगै विलियन आफ्नो पूर्व क्लब कोरेन्थिन्समा फर्किएका थिए ।

‘मैले सधै शतप्रतिशत दिएँ,’ विलियानले भने, ‘मैले सधै जित्न चाहेँ । पूर्व क्लबमा मैले सधै उत्कृष्ट प्रदर्शन गरेको थिएँ,’ विलियनले भने, ‘तर मलाई थाहा छ, आर्सनलमा मेरो प्रदर्शन क्लबले आशा गरेको भन्दा खराब रह्यो । म त्यसका लागि समर्थकसँग माफी माग्न चाहन्छू ।’

विलियन सन् २०२० अगस्टमा स्वतन्त्र सरुवा प्रणालीअन्तर्गत लन्डनकै अर्को क्लब चेल्सीबाट ३ वर्षका लागि आर्सनलसँग अनुबन्धित भएका थिए ।

‘मैले आर्थिक कारण चेल्सी छोडें आर्सनल आएको भनेर आलोचना भयो । तर यो सत्य होइन,’ उनले थपे, ‘टोलीले पनि आफ्नो रणनीति अनुसारको प्रदर्शन गर्न सकेन । आज क्लब र मेरोबीचको सम्झौता रद्द भएसँगै यो आलोचना पनि गलत सावित भएको छ ।’

गत सिजन आर्सनलबाट विलियनले २६ खेलमा १ गोल मात्र गरेका थिए । प्रशिक्षक मिकेल आर्टेटाले पनि शनिबार म्यानचेस्टर सिटीसँग ५-० को हारपछि प्रतिक्रिया दिदै विलियनले किन क्लबले गरेको आशा अनुसारको प्रदर्शन गर्न सकेनन् भन्ने विषयमा आफै अन्यौलमा परेको बताएका थिए ।