एन्फा निर्वाचन

एन्फा निर्वाचन: महिला सदस्यमा लामा र श्रेष्ठ निर्वाचित

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को आगामी चार वर्षे कार्यकालका लागि महिला सदस्यमा पेमाडोमा लामा र सरिला श्रेष्ठ निर्वाचित भएका छन् । नेपाली फुटबलको सर्वोच्च निकायको नयाँ नेतृत्व चयनका लागि सोमबार बुढानिलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा निर्वाचन भएको थियो ।

सोही निर्वाचनबाट महिला सदस्य पदमा ४३ मतसहित लामा र ४६ मतसहित श्रेष्ठ विजयी भएका हुन् । महिला सदस्यमा उम्मेदवारी दिएका विन्द्रा देवान ३९ र विना श्रेष्ठ ४० मत मात्र पाउँदा पराजित भए ।

अध्यक्ष पदमा यसअघि नै पंकजविक्रम नेम्वाङ, वरिष्ठ उपाध्यक्षमा वीरबहादुर खड्का निर्वाचित भइसकेका छन् । यस्तै, चार उपाध्यक्षमा विराटजंग शाही, कुमार केसी, दावा लामा र दीपक खतिवडा विजयी भएका छन् ।

एन्फाको २१औं चुनावी साधारण सभाबाट २१ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ । जसमा अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, चार उपाध्यक्ष, दुई महिला सदस्य र १३ जना खुल्ला सदस्य निर्वाचित हुनेछन् । खुल्ला सदस्यको मत गणना अहिले जारी छ ।