अब्दुल्लाह अल्मुताइरी

नेम्वाङको जितसँगै प्रशिक्षक अल्मुताइरी नेपाल नफर्किने चर्चा!

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को आगामी चार वर्षे कार्यकालका लागि पंकजविक्रम नेम्वाङ अध्यक्ष पदमा निर्वाचित भएसँगै राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको नेपाल नफर्किने चर्चा चुलिएको छ ।

सामाजिक सञ्जाल इन्स्टाग्राम–स्टोरीमा प्रशिक्षक अल्मुताइरीले केही समयअघि नेपाली फुटबलप्रति सुखद् भविष्यको कामना गर्दै आफू नफर्किने संकेत गरेको स्क्रिनसट भाइरल बनेको छ । यद्यपि, अल्मुताइरीले भने त्यो स्टोरीबाट हटाइसकेका छन् ।

नेपाली राष्ट्रिय टिमको प्रशिक्षक हुँदै गर्दा प्रशिक्षक अल्मुताइरीले तत्कालीन वरिष्ठ उपाध्यक्ष नेम्वाङका कारण आफू पदबाट राजीनामा दिन एन्फा जान लागेको फेसबुकमा लेखेका थिए । तर, उनले राजीनामा भने दिएका थिएनन् । त्यसो त नेपाललाई पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा पुर्याएपछि पनि उनले नेपाल नफर्किने अभिव्यक्ति दिएका थिए ।

यद्यपि, त्यो पनि यथार्थमा परिणत भएको थिएन । त्यसअघि नेम्वाङकै कारण राजीनामा दिने बताएको समयमा दिएको एउटा अन्तरवार्तामा पनि उनले तत्कालिन अध्यक्ष कर्माछिरिङ शेर्पाबाहेक अन्य अध्यक्षसँग काम गर्न नसक्ने बताएका थिए ।

एसियन कप छनोटको तेस्रो चरणका लागि आफ्नो देश कुवेत पुगेका अब्दुल्लाह तीन महिनाका लागि छुट्टिमा छन् ।

एन्फाको सोमबार भएको निर्वाचनबाट नेम्वाङ ४५ मतसहित अध्यक्ष पदमा निर्वाचित हुँदा ३९ मत पाएका शेर्पा पराजित भएका थिए ।