एन्फा निर्वाचन

एन्फा निर्वाचनः सदस्य पदमा नेम्वाङका ६ र शेर्पाका ५ उम्मेदवार विजयी, दुई सदस्यको टुङ्गो लागेन

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) निर्वाचनको सोमबार राति सम्पन्न मत गणनाबाट कार्यसमिति सदस्य पदमा पंकजविक्रम नेम्वाङ प्यानलका ६ र कर्माछिरिङ शेर्पा प्यानलका ५ उम्मेदवार विजयी भएका छन् । बुढानिलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा सम्पन्न निर्वाचनबाट नेम्वाङ प्यालनका रविन्द्र चन्द ४६, अनिल मल्ल ४७, भोजराज शाही ४४, पुरुषोत्तम थापा ४३, महेन्द्र क्षेत्री ४४, विजय नारायण श्रेष्ठ ४४ मत ल्याएर विजयी भए ।

शेर्पा प्यानलका रमेश व्यञ्जनकार ४३, भरत बुढ थापा ४०, टिका लामा ४१, मणिराज विष्ट ४२, मनिष जोशी ४८ मत ल्याएर विजयी भए ।

शेर्पा प्यानलका तीन र नेम्वाङ प्यानलका एक गरी चार सदस्यका उम्मेदवारको समान ३९ मत आएपछि दुई सदस्यको टुङ्गो आगामी साधारण सभाबाट मात्रै लाग्ने भएको छ । शेर्पा प्यानलका रुपेश अधिकारी, लोकेन्द्र गुरुङ र दीपक थापा क्षेत्री तथा नेम्वाङ दीपेन्द्र धिमालको समान ३९ मत आएको थियो ।

यसअघि नै अध्यक्ष पदमा नेम्वाङ ४५ मतसहित निर्वाचित भइसकेका छन् । यस्तै वरिष्ठ उपाध्यक्षमा पनि नेम्वाङ प्यानलकै वीरबहादुर खड्का निर्वाचित भएका छन् । विजयी खड्काले ४४ मत ल्याउँदा शेर्पा प्यानलका उम्मेदवार शिक्षित पराजुलीले ४० मत ल्याए ।

उपाध्यक्ष पदमा नेम्वाङ प्यानलका तीन उम्मेदवार– दावा लामा, दीपक खतिवडा र बिराटजंग शाही निर्वाचित हुँदा शेर्पा प्यानलका दीर्घबहादुर ९कुमार० केसी विजयी भए । नेम्वाङ प्यानलका सुन्दरनरसिंह जोशी तथा शेर्पा प्यानलका उपेन्द्रमान सिंह, रत्नकुमार श्रेष्ठ र विज्ञानराज शर्मा पराजित भए ।

यस्तै, महिला सदस्यमा शेर्पा प्यानलकी पेमा डोल्मा लामा र नेम्वाङ प्यानलकी सरिला श्रेष्ठ निर्वाचित भइसकेका छन् ।