कर्माछिरिङ शेर्पा

अध्यक्षमा पराजित भएपछि पूर्वअध्यक्ष शेर्पा भन्छन्, ‘फुटबलबाट टाढा जाँदिन’

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को सोमबार सम्पन्न निर्वाचनमा पराजित भएपछि पूर्व अध्यक्ष कर्माछिरिङ शेर्पाले फुटबलबाट टाढा नजाने बताएका छन् ।

नेपाली फुटबलको सर्वोच्च निकायको आगामी चार वर्षे नेतृत्व चयनका लागि सोमबार बुढानिलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा भएको निर्वाचनमा पूर्वअध्यक्ष शेर्पालाई पराजित गर्दै पंकजविक्रम नेम्वाङ अध्यक्ष पदमा निर्वाचित भएका छन् ।

विजयी नेम्वाङले ४५ मत ल्याउँदा शेर्पा ३९ मतमा सीमित भएका थिए । अध्यक्ष पदमा पराजित भएपछि पत्रकारसँग कुरा गर्दै शेर्पाले विजयी टिमलाई बधाई पनि दिएका थिए ।

‘नयाँ टिमलाई सफलता मिलोस् मेरो शुभकामना छ,’ उनले भने, ‘नेपाली फुटबल विगतभन्दा व्यवस्थितरुपमा अगाडि बढ्नु पर्छ ।’

नेपालमा फुटबल सञ्चालन गर्न सोचेकोभन्दा गाह्रो भएको शेर्पाले बताए ।

‘हामीले विगतको चार वर्षमा फुटबलको फाउन्डेसन तयार गर्ने प्रयत्न गर्यौं, त्यो पनि अझै बनिसकेको छैन, पहिले फाउन्डेसन बनाउनुपर्छ, खेलाडीले बाह्रै महिना खेल्न, प्रशिक्षकले बाह्रै महिना प्रशिक्षण दिन र रेफ्रीले पनि बाह्रै महिना काम गर्न पाउनुपर्छ ।’

नेपालमा फुटबलको विकास गर्न लिगलाई होम एन्ड अवे पद्धतिमा आयोजना गर्नुपर्ने र कल्पना मात्रै गरेर यसको विकास नहुने शेर्पाले बताए । 
‘मेरो तर्फबाट नेतृत्वलाई कुनै अवरोध हुँदैन,’ हिमालयन शेर्पा क्लबका अध्यक्षसमेत रहेका शेर्पाले भने, ‘ए डिभिजन क्लबको अध्यषको हैसियतमा व्यवसायिक होस् भन्ने चाहना छ । अबको मेरो भूमिका क्लबलाई व्यवसायिक बनाउनेतर्फ केन्द्रीत हुनेछ । म फुटबलबाट टाढा जाँदिन ।’

अध्यक्ष नेम्वाङले सुशासनको कुरा उठाएको र आफ्नो कार्यकालमा त्यसको सुरुआत भइसकेको शेर्पाले बताए ।

‘वहाँले सुशासनको कुरा गर्नु भएको छ हाम्रो पालामा सुरु भएको छ, त्यसलाई वहाँहरुले कायम गर्नुपर्ने छ ।’

नेपाली फुटबलको विकासका लागि निम्न स्तरबाट काम हुनु पर्ने शेर्पाको जोड थियो ।

‘उमेर समूहका धेरैभन्दा धेरै प्रतियोगिता आयोजना हुनुपर्छ, ग्रासरुट र लिग बलियो बनाउनुपर्छ, लिग कमिटि व्यवस्थित बनाउने चुनौती वहाँहरुलाई छ,’ शेर्पाले भने ।

आर्थिक पक्षबाट पनि नेपालमा फुटबल सञ्चालन गर्न गाह्रो भएको शेर्पाले बताए ।

‘सरकारबाट प्राप्त हुने बजेट कम छ, प्रायोजन पनि पर्याप्त हुँदैन, त्यसमा काम गर्नुपर्ने चुनौती वहाँहरुसँग छ,’ शेर्पाले भने, ‘फुटबलको विकासका लागि म सधैँ हुन्छु । म उजुरी चाहीँ हाल्दिन ।’