रियाल मड्रिड

लिजेन्डबाट जिम्मेवारी लिन तयार छन्, रियालका युवा स्टार

रियाल मड्रिडका युवा स्टारले प्रभावशाली प्रदर्शन गर्दै च्याम्पियन्स लिगको फाइनलमा पुर्याउँदा सिनियर खेलाडीहरूले बेन्चमा बसेरै आनन्द लिए । रियालले सेमिफाइनलमा हासिल गरेको लोभलाग्दो विजयमा चम्किएका युवा स्टारले क्लबको दीर्घकालिनरूपमा पनि जिम्मेवारी लिन आफू तयार भएको देखाए ।

च्याम्पियन्स लिग सेमिफाइनलको दोस्रो लेगमा म्यानचेस्टर सिटीविरुद्ध फाइनल ह्विसल बज्दा करिम बेन्जिमा, लुका मोड्रिच, टोनी क्रुस र क्यासिमिरो कोही खेलाडी पनि पिचमा थिएनन् । त्यो खेलपछि समग्रमा ६-५ को जित निकाल्दै रियालले शनिबार हुने च्याम्पियन्स लिगको फाइनलमा यात्रा तय गरेको थियो ।

रोडरिगोले सिटीविरुद्धको त्यो खेलको अन्तिम समयमा दुई गोल गर्दै त्यो खेल अतिरिक्त समयमा धकेलेका थिए । रियालका लागि युवा खेलाडी एडुवार्डो कामाभिङ्गाको प्रदर्शन त उल्लेखनीय थियो । यस्तै, फेडेरिको भलभर्देको इन्जिन १ सय २० मिनेटपछि पनि चालू थियो ।

ब्राजिलियन फरवार्ड भिनिसियस जुनियरले यो सिजन ५१ खेल खेलिसकेका छन् । जुन अन्य सबै सहकर्मीको तुलनामा धेरै हो । उनले सिटीविरुद्ध पहिलो लेगमा गरेको उत्कृष्ट सोलो गोल रियालको फाइनल यात्रामा महत्त्वपूर्ण रह्यो ।

किलियान एम्बाप्पेलाई अनुबन्ध गर्न नसक्नुबाहेक रियालका अध्यक्ष फ्लोरेन्टिनो पेरेजको ट्रान्सफर रणनीतिले नै क्लबलाई १४औं पटक युरोपियन च्याम्पियन बन्ने संघारमा छ । परेजले पछिल्ला वर्षहरूमा गरेको लगानीले अहिले फल प्रदान गरेको देखिन्छ ।

यसले ला लिगा च्याम्पियन टिममा देखिएको ‘रिभोलुसन’को पनि संकेत गर्छ । युवा खेलाडीको प्रभावले रियाललाई चार पटक च्याम्पियन्स लिगको उपाधि जिताएका मोड्रिच र बेन्जिमालाई रियालमा करियरको अन्त्यतर्फ धकेलेका छन् ।

क्रुस र ग्यारेथ बेल पेरेजको दोस्रो कार्यकालका सुरुआती वर्षमा रियालले पाएका स्टार हुन् । पेरेजको पहिलो कार्यकालाई ‘गालाक्टिको अप्रोच’ भनेर बयान गरिएको थियो, जसले दोस्रो कार्यकालमा पनि निरन्तरता पायो ।

सन् २१औं सताब्दीका सुरुआती वर्ष पहिलो पटक रियालका अध्यक्ष बनेका पेरेजले प्रतिद्वन्द्वी बार्सिलोनाबाट लुइस फिगोलाई बेर्नाबेउ ल्याउन सफल भएका थिए । पेरेजकै पहिलो कार्यकालमा जिनेदिन जिदान, रोनाल्डो, डेभिड बेक्हम र माइकल ओवेनलाई पनि भित्र्याएका थिए ।

सन् २००९ मा पेरेज पुनः अध्यक्ष बन्ने बित्तिकै काका र क्रिस्टियानो रोनाल्डोलाई भित्र्याएका थिए ।

सन् २०१४ विश्वकप पछि हामेर रोडरिग्वेजलाई अनुबन्ध गरेपछिको गालाक्टिको विजनेस एउटा मात्रै भयो, इडेन हाजार्ड । रियालले सन् २०१९ मा चेल्सीबाट ८९ मिलियन पाउन्डमा २८ वर्षीया हाजार्डलाई भित्र्याएको थियो ।

त्यपछिको लगानी प्राय रियालले युवा खेलाडीमा गर्यो भने फ्रि ट्रान्सफर र न्युन मुल्यमा केही खेलाडी भित्र्यायो ।

गत सिजन रियालले निःशुल्क डेभिड अलाबालाई बायर्न म्युनिखबाट निःशुल्क भित्र्याएको थियो । सोही सिजन रेनेसबाट युवा मिडफिल्डर कामाभिङ्गालाई २८ मिलियन पाउन्डमा भित्र्याएको थियो ।

सन् २०१७ मा रियालका पूर्व प्रशिक्षक जर्ज भाल्डानोले पेरेज परिवर्तन नभएको तर बजार परिवर्तन भएको बताएका थिए । ‘फ्लोरेन्टिनो परिवर्तन भएका हुन् ?’ उनले भने, ‘होइन, बजार परिवर्तन भएको हो । अहिले युवा ट्यालेन्ट आएर परिपक्व भएर बालोन डी’अर जितिन्जेल पर्खिन र रियाल मड्रिड हुँ भनेर किन्न सकिँदैन ।’

भिनिसियसलाई खोज्ने रणनीतिले रियालको विश्वभरबाट युवा खेलाडी ल्याउने योजनालाई स्पष्ट पारेको छ । त्यसका लागि स्काउटका प्रमुख युनी कलाफतको ठूलो हात छ । उनले फ्लामेङ्गोको सिनियर टिमबाट १७ मिनेट मात्रै खेलेका १६ वर्षे भिनिसियसलाई अनुबन्ध गर्न जाँदा एडर मिलिटाओ र रोडरिगो पनि फेला पारेका थिए ।

भिनिसियस १८ वर्ष पूरा भएसँगै २०१८ मा ३९ मिलियन पाउन्डमा रियालमा अनुबन्ध भएका थिए ।

‘भिनिसियस र मैले फ्लामेङ्गोबाट रियालमा छलाङमा मारेका थियौं । तर, त्यहाँ ठूलो फरक थियो,’ ब्राजिलका पूर्व खेलाडी साभियोले भने । उनलाई रियालले १९९७ मा अनुबन्ध गरेको थियो ।

‘मैले २३ वर्ष, करिब २४ वर्षको हुँदा रियाल गएको थिएँ । मैले केही अनुभव लिएर छोडेँ । विशेष गरी मैले पहिलो सिजनमा देश परिवर्तन गर्न, फुटबल र रणनीति सिकेको थिएँ,’ उनले भने, ‘तर भिनिसियस १८ वर्षीय थिए । उनी युवा खेलाडी हुन् । उनले चाहीँ बास्तविक फ्लामेङ्गोको युवा टिमबाट रियालको सिनियर टिममा छलाङ मारे । त्यसैले उनले धेरै कुरा सिक्न, पिचमा प्रस्तुत गर्न र रणनीतिक कुराहरू पनि सिक्न बाँकी छ ।’

‘रियाल मड्रिड भनेको ठूलो परिवर्तन हो । पहिलो र दोस्रो सिजनमा उनीहरू कसरी खेल्छन् भन्ने राम्रोसँग बुझ्नुपर्छ । किनभने, दक्षिण अमेरिकी फुटबल र युरोपियन फुटबलमा धेरै परिवर्तन छ,’ उनले भने ।

पेरेजले त्यो समयमा गरेको ट्रान्सफर विजनेसले अहिले फल पाएको छ । २१ वर्ष पुगेका भिनिसियसले आफ्नो उत्कृष्ट प्रदर्शन दिँदै सबै खाले प्रतियोगितामा २१ गोल गरेका छन् भने २० असिस्ट गरेका छन् । उनको यो सिजन ३४ वर्षीय बेन्जिमासँगको जोडी जमेको छ ।

‘ती सबै परिवर्तनहरूका बाबजुद, विभिन्न कठिनाइका बाबजुद पनि उनले भिनिसियस हुन केही कसर बाँकी राखेका छैनन् । मैले उनलाई फ्लामेङ्गोमा पनि देखेको छु,’ साभियोले भने, ‘त्यो वान्–अन–वान्, र इन्डिभिजुअल क्वालिटी थियो । यो वर्ष उनले आफ्नो धेरैभन्दा धेरै क्षमता देखाइरहेका छन् ।’

मोड्रिडको सिंहासनमा बस्ने उत्तराधिकारी को ?

रियालसामु अहिले दीर्घकालिनरूपमा मिडफिल्ड ‘ट्रिओ’को स्थान कसले लिने भन्ने प्रश्न छ । रियालका प्रमुख तीन मिडफिल्डर मोड्रिच, क्रुस र क्यासिमिरो क्रमशः ३६, ३२ र ३० वर्ष पुगिसके ।

रियालका पूर्व डिफेन्डर तथा कार्लो एन्सेलोटीको पहिलो कार्यकालका सहायक प्रशिक्षक फर्नान्डो हिएरो १९ वर्षीय फ्रेन्च मिडफिल्डर कामाभिङ्गा र २३ वर्षीय उरुग्वेयन भलभर्देले त्यो खाली ठाउँ पूरा गर्ने विश्वास व्यक्त गरे ।

‘मोड्रिच उमेरअनुसार वाइन जस्तो झन् उत्कृष्ट हुँदै गइरहेका छन् । आशा गरौं उनले रियालबाट अझै केही वर्ष खेल्न सकुन्,’ हिएरोले भने, ‘रियाल जस्तो क्लबमा घुलमिल हुन सहज छैन । तर, कामाभिङ्गा र भलभर्दे तयार भइसकेका छन् ।’

रियालका पूर्व मिडफिल्डर गुटीले उरुग्वेयन मिडफिल्डर एकदमै क्षमतावान् खेलाडी भएको बताए ।

‘उनले पिचमा अझै सावित गर्नुपर्छ, उनीसँग आफूमा एकदमै क्षमता छ,’ उनले भने, ‘कामाभिङ्गा पनि अर्का एक क्षमतावान खेलाडी हुन् । हो, मोड्रिचलाई प्रतिस्थापन गर्न सहज छैन । तर, समय दिने हो भने यी दुई खेलाड रियालमा उत्कृष्ट प्रदर्शन गर्न योग्य छन् ।’

कामाभिङ्गा धेरै क्बलहरूले भित्र्याउन चाहेका खेलाडी रियाल पुगेका हुन् । उनलाई प्रशिक्षक एन्सेलोटीले क्लबको वर्तमान र भविष्य भनेर बयान गर्दै आफ्नो वरीपरीका सिनियर खेलाडीबाट उनले धेरै कुरा सिक्न सक्ने बताएका थिए ।

‘उनीहरू विश्वकै उत्कृष्ट मिडफिल्डरसँग प्रतिस्पर्धा गरिरहेका छन् । तर, उनीहरूले भविष्यमा आफूहरू त्यो पोजिसनमा खेलिरहेका हुन्छौं भन्ने बुझ्न जरुरी छ,’ एन्सेलोटीले भने, ‘कामाभिङ्गासँग विशाल क्षमता र पावर छ, तर उनले अनुभव र ज्ञान बटुल्न जरुरी छ । उनीसँग अहिले छैन, तर उनी भर्खर १९ वर्ष पुग्दै छन् ।’

‘प्रत्येक दिन उनी मोड्रिच, क्रुस र क्यासिमिरोसँग ट्रेनिङ गर्नु भनेको मास्टर्स डिग्री हो । मैले भनेको भन्दा उनले ट्रेनिङमा देखेको कुराबाट धेरै कुरा सिक्नेमा म विश्वस्त छु,’ उनले भने ।

आफूलाई राइट फरवार्डको रूपमा पनि विकास गरिरहेका भलभर्दे बारे बोल्दै एन्सेलोटीले भने, ‘उनले आफूमा भएका सबै क्षमता प्रस्तुत गरिरहेका छन् । जहाँ सुकै उनले मौका पाउँछन्, उनले प्रहार गर्नुपर्छ । किनभने उनी अविश्वसनीय सट हान्न सक्छन् । उनी दुर्लभ आधुनिक मिडफिल्डर हुन् ।’

आगामी सिजनका लागि रियालले लगानी गर्दैन भन्न सकिँदैन किनभने पेरेजको टिम मोनाकोका २२ वर्षीय मिडफिल्डर औरेलियन चोआमेनीसँग सम्झौता नजिक पुगेको खबर आइरहेका छन् । एम्बाप्पेलाई भित्र्याउन असफल भएसँगै केही प्रमुख अनुबन्ध हुनेमा विश्वस्त हुन सकिन्छ ।

तर, भविष्यबारे ढुक्क हुँदै एन्सेलोटी भन्छन्, ‘हामीसँग लिजेन्डको आइडियल प्रतिस्थापन छ ।’