एनएसकेए अन्तर्राष्ट्रिय कराते प्रतियोगिता

सेमीफाइनल समीकरण पूरा

काठमाडौं । नेपाल सोतोकान कराते संघको आयोजनामा भइरहेको १३औं एनएसकेए अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको बुधबार सेमिफाइनलमा समीकरण पूरा भएको छ ।

नेपाल, भारत र बंगलादेशका खेलाडी सहभागी प्रतियोगिताको पहिलो दिन मंगलबार नेपाली खेलाडीबीच मात्र प्रतिस्पर्धा भएको थियो । त्यसबाट प्रत्येक तौल समूहका दुई खेलाडी सेमिफाइनलमा प्रवेश गरे ।

बुधबार भारत र बंगलादेशका खेलाडी सम्मिलित प्रतिस्पर्धा भएको थियो । यो प्रतिस्पर्धाबाट पनि प्रत्येक तौलसमूहका दुई खेलाडी सेमिफाइनलमा प्रवेश गरेका छन् । सेमिफाइनल प्रवेश गर्नेले बिहीबार प्रतिस्पर्धा गर्नेछन् । बिहीबारै फाइनल पनि हुने तालिका छ ।

प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष शिव कोइरालाले एक कार्यक्रमबीच उद्घाटन गरेका थिए । प्रतियोगिता मंगलबार सुरु भएपनि औपचारिक उद्घाटन बुधबार भएको हो ।

त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा जारी प्रतियोगितामा करिब ६ सय खेलाडीले विभिन्न ४६ स्पर्धामा प्रतिस्पर्धा गरिहेको आयोजक संघका महासचिव समेत रहेका प्रमुख प्रशिक्षक श्याम शेर्पाले जानकारी दिए ।