फिफा

ब्राजिल र अर्जेन्टिनाबीचको खेल पुनः खेलाउन फिफाको निर्देशन

ज्युरिच । फिफाले दक्षिण अमेरिकी विश्वकप छनोट २०२२ अन्तर्गत गत सेप्टेम्बरमा रद्द भएको ब्राजिल र अर्जेन्टिनाबीचको खेल पुनः खेलाउन निर्देशन दिएका छ ।

फिफाले छानबिनपछि फेर्बुअरीमै यी दुई टोलीबीचको खेल पुनः खेलाउन निर्देशन दिएको थियो । साथै फिफाले अर्जेन्टिनाका इमिलियानो मार्टिनेज, इमिलियानो ब्युन्डाइ,क्रिस्टियन रोमेरो र जियोभानी ला सेल्सोमाथिको निलम्बन यथावत राख्दै  दुवै देशका फुटबल संघमाथि जरिवानाको निर्णय गरेको थियो । तर खेल मिति र खेलस्थल भने अझै निश्चित भइसकेको छैन । 

ब्राजिल र अर्जेन्टिनाका फुटबल संघले  विश्वकप छनोटमा सो खेलको नतिजाले कुनै असर नगर्ने भन्दै पुनः खेल खेलाउने फिफाको निर्णय खारेज गर्दै दुवै टोली अंक बाँड्न सहमत रहेको जनाएका थिए । फिफाले सो अपिल खारेज गरेको हो ।

सान पाउलोमा खेल सुरु भएको पाँच मिनेटमै ब्राजिलका स्वास्थ्यअधिकारीहरु मैदान प्रवेश गरेपछि सो खेल रद्द भएको थियो ।

अर्जेन्टिनाका इमिलियानो मार्टिनेज, इमिलियानो ब्युन्डाइ,क्रिस्टियन रोमेरो र जियोभानी ला सेल्सोले कोभिड १९ सम्बन्धी निर्देशिका विपरितको कार्य गरेको भन्दै ब्राजिलका स्वास्थ्य अधिकारीहरु मेैदान प्रवेश गरेका थिए ।

‘फिफाको अपिल कमिटीले ब्राजिल फुटबल संघ (सिबीएफ) र अर्जेन्टिनियन फुटबल संघ (एएफए) को अपिल खारेज गरेको छ,’ फिफाले जारी गरेको विज्ञप्त्तिमा भनिएको छ ।

ब्राजिल र अर्जेन्टिनाले यसअघि नै कतार विश्वकप २०२२ को टिकट पक्का गरिसकेका छन् । ब्राजिल ४५ अंकसहित शीर्ष स्थानमा छ भने दोस्रो स्थानको अर्जेन्टिनाको ३९ अंक रहेको छ ।

 यी दुई टोलीबीचको नतिजाले अंक तालिकामा भने कुनै परिवर्तन हुनेछैन ।