इङ्लिस प्रिमियर लिग

लिभरपुलको नतिजा भन्दा आफ्नो स्वभाविक खेलमा ध्यान दिनुपर्छः ग्रिलिस


लन्डन । म्यानचेस्टर सिटीका ज्याक ग्रिलिसले इङलिस प्रिमियर लिगको उपाधि रक्षाका लागि दोस्रो स्थानको लिभरपुलको नतिजा भन्दा पनि आफ्नो स्वभाविक प्रदर्शनमा केन्द्रित हुनुपर्ने बताएका छन् । 

लिभरपुलले शनिबार टोटनहमसँग १-१ को बराबरी खेल्दा सिटीले भने न्युक्यासल युनाइटेडमाथि ५-० को फराकिलो जितसहित शीर्ष स्थानमा तीन अंकको अग्रता लिएको थियो । 

सिटीले प्रिमियर लिगमा आफ्नो अपराजित यात्रा नवौं खेल सम्म कायम राखेको छ । जसमध्ये सिटीले सात खेलमा जित निकालेको छ भने दुई खेलमा अंक बाँडेको छ । लिगमा तीन खेल बाँकी रहँदा शीर्ष स्थानको सिटीले तीन अंकको अग्रता लिएको छ । 

सिटी बुधबार उल्भरहमटनको भ्रमणमा निस्किनेछ । लिभरपुलले भने मंगलबार एस्टन भिल्लासँग प्रतिस्पर्धा गर्नेछ ।

'लिभरपुल राम्रो टोली हो र उनीहरुले लिगमा बाँकी रहेका खेलहरुमा अंक गुमाउछन् जस्तो मलाई लाग्दैन,' ग्रिलिसले भने, ‘हामीले लिभरपुलको नतिजा भन्दा पनि आफ्नो स्वभाविक प्रदर्शनमा ध्यान दिँदै नौ मध्ये नौ अंक ल्याएमा उपाधि रक्षाको लक्ष्यका लागि पर्याप्त हुन्छ । हाम्रा लागि बाँकी रहेका तीन वटै खेल फाइनल सरह हो ।’

जारी सिजन  ग्रिलिसले सिटीबाट सबै खाले प्रतियोगिता गरि ३७ खेलमा पाँच गोल गरेका छन् भन चार असिस्ट गरेका छन् ।