प्रशिक्षक-खेलाडी विवाद

खेलाडी–प्रशिक्षक विवादः छानविन गरी दोषीलाई कारवाहीको दायरामा ल्याउन एनएनआइपिएको माग

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी र १० खेलाडीहरुबीच रहेको विवादको विषयमा छानविन गर्न नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) ले माग गरेको छ ।

शुक्रबार एनएनआइपिएले अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पालाई ज्ञापन पत्र बुझाउँदै विवादबारे छानविन गरी दोषीलाई कारवाहीको माग समेत गरेको हो ।

यस्तै, एनएनआईपिएले एन्फाले विवादको छानविनका लागि एक सदस्यीय छानविन समिति गठन भएको बताए पनि त्यसबारे स्पष्ट कुरा नआएको र एक सदस्यको समिति प्रभावकारी नहुने भन्दै कम्तिमा तीन सदस्यीय समिति बनाउन आग्रह समेत गरेको छ ।

यसअघि एन्फाले बुधबार आफ्नो आधिकारिक वेभसाइटमार्फत पूर्व खेलाडी तथा नेपाली सेनाका अवकाश प्राप्त मेजर जनरल भिक्टर राणाको संयोजकत्व खेलाडी र प्रशिक्षक विवादबारे छानविन समिति गठन गर्ने भन्दै समाचार प्रकाशित गरेको थियो । तर, त्यसको केही बेरमै यो समाचार एन्फाको पेजबाट डिलिट गरिएको थियो ।

एसियन कपको तयारीका लागि बन्द प्रशिक्षणमा रहेको नेपाली टोलीका १० खेलाडीलाई मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले होटल छोड्ने निर्देशन दिएको भन्दै रोहित चन्दसँगै, विमल घर्तिमगर, सुजल श्रेष्ठ, अन्जन बिष्ट लगायतका खेलाडीहरुले प्रशिक्षण छोडेका बताएका थिए । तर, प्रशिक्षक तथा व्यवस्थापकहरूले सूचना नदिई ‘खेलाडी भागेको’ प्रतिक्रिया दिइरहेका छन् ।

यसबारे खेलाडी तथा प्रशिक्षक अल्मुताइरी दुवैले एन्फालाई विवादबारे पत्र पठाएका थिए । खेलाडीले घटनाको जानकारी गराउँदै स्पष्ट छानविनको माग राखेका थिए भने प्रशिक्षकले खेलाडीहरूलाई माफी दिएको बताएका थिए ।

यद्यपि, प्रशिक्षकले माफी दिए पनि खेलाडीहरूलाई आसन्न एएफसी एसियन कप छनोटको तेस्रो चरणका लागि भने टिममा समावेश नगराउने बताएका थिए ।

विवाद समाधान कै लागि भनेर एन्फाले वैशाख २५ गते कार्यसमितिकाे बैठक समेत बोलाएकाे छ ।