नेपाली फुटबलको शैली 

काठमाडौं - (खेलाडी)  राष्ट्रिय टोलीमा मुख्य प्रशिक्षकका रूपमा कुवेती नागरिक अब्दुल्लाह अल्मुताइरीको आगमनपछि नेपाली फुटबल निरन्तर तरंगित छ । कहिले नेपालको खेल्ने शैलीमा नाटकीय सुधार आएको भनेर अल्मुताइरी प्रशंसित हुन्छन् भने कहिले अखिल नेपाल फुटबल संघ (एन्फा) पदाधिकारी र पत्रकारसँगका झगडाले विवादित ।

अल्मुताइरीकै कारण नेपाली फुटबलमा अहिले एउटा उच्चस्तरीय छानबिन समिति बनेको छ । एन्फाका वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङसँग उनको विवादमाथि छानबिन गर्न युवा तथा खेलकुद मन्त्रालयको निर्देशनमा राष्ट्रिय खेलकुद परिषद्ले बनाएको समितिले केही दिनमा प्रतिवेदन सार्वजनिक गर्ने अपेक्षा गरिएको छ । यही कारण अखिल नेपाल फुटबल संघ (एन्फा) ले आकस्मिक बैठक बसेर छानबिनका लागि सरकारसँग अनुरोध गर्ने निर्णय गर्नुपरेको थियो । 

सामाजिक सन्जालमार्फत समर्थकबीच अत्यन्तै लोकप्रियता पाएका अल्मुताइरी उनको आगमनपछि भन्न थालियो, ‘अल्मुताइरीले नेपाली फुटबलमा क्रान्तिकारी परिवर्तन गर्दैछन् । सधैं रक्षात्मक फुटबल खेल्ने नेपालले आफ्नो शैली परिवर्तन गरेर आक्रामक फुटबल खेल्न थालेको छ । चाँडै नेपाली फुटबल कम्तीमा एसियाली स्तरमा उक्लिने छ ।’

अल्मुताइरीको आगमनसँगै चलेको फुटबल शैलीको बहसमा समग्र नेपाली खेलकुदको समाचार थलो खेलाडी डटकमले एउटा अध्याय थप्ने प्रयास गरेको छ । यसक्रममा दुई दशकभन्दा लामो समय फुटबल पत्रकारिता गरेका सञ्चारकर्मी, नेपाली राष्ट्रिय फुटबल टोलीमा विभिन्न समय खेलाडी, व्यवस्थापक वा अन्य कुनै भूमिकामा योगदान गरेका एक दर्जन फुटबलकर्मीसँग हामीले सोधेका थियौं, ‘नेपाली फुटबलको शैली के हो ?’

खेलाडीको प्रश्नमा फुटबलकर्मीहरूले इतिहासदेखि अहिलेसम्म नेपाली फुटबलमा आएका मोडहरू स्मरण गरेका छन् । हामीले तिनै एक दर्जन फुटबलकर्मीका स्मरणहरूलाई एक ठाउँमा प्रस्तुत गर्ने प्रयास गरेका छौं । यसमा कसैको फरक मत हुनसक्छ वा हामीले समेट्न नसकेका जानकारी धेरैसँग हुन सक्छन् । त्यस्ता फरक मत र नयाँ जानकारीलाई हामी स्वागत गर्नेछौं । नेपाली खेलकुदलाई ‘दस्तावेजीकरण’ गर्ने हाम्रो यो प्रयासमा आम फुटबलकर्मीको सहभागिता आवश्यक हुन्छ । त्यसैले सबैको साथ रहनेमा हामी विश्वस्त छौं । 

फुटबलबाट सुरु गरिएको दस्तावेजीकरणको यो प्रयासले आगामी दिनमा अन्य खेलमा पनि प्राविधिक र प्रशासनिक पक्षमा निरन्तरता पाउनेछ । पहिलो प्रयासमा केही गल्ती, कमी कमजोरी भएको भए हामी तपाईंहरूकै सहयोग, सल्लाह र सुझावमा त्यसलाई सच्याउँदै जाने छौं । 

नेपालले सन् १९८२ भन्दा अगाडि एएफसी तथा फिफाको औपचारिक प्रतियोगिता खेल्दैन थियो । बंगलादेश, पाकिस्तान तथा भारत वा अरू केही मुलुकमा गएर अनौपचारिक प्रतिस्पर्धा गथ्र्‍यो । तिनै प्रतियोगितालाई अन्तर्राष्ट्रिय प्रतियोगिता मान्नुपर्ने अवस्था थियो । 

त्यतिबेला सन्जय गान्धी गोल्डकप, पटनामा पटना गोल्डकप, दार्जिलिङमा ब्रिटिस गोर्खा गोल्डकपजस्ता प्रतियोगिता हुन्थे । त्यस्तै प्रतियोगिताहरूमा नेपालको राष्ट्रिय टिमले नेपाल-११,  काठमाडौं-११ को नामबाट खेल्ने गरेका थिए । 

अन्तर्राष्ट्रिय मान्यताप्राप्त गरेपछि सन् १९८२ मा नयाँ दिल्लीमा भएको एसियाली खेलकुदमार्फत नेपालले आधिकारिक फुटबल प्रतियोगिता खेल्न थाल्यो । 

नेपालले एसियाली खेलकुदमा त्यतिबेला इराक, कुवेत र बर्माविरुद्ध खेलेको थियो । त्यो बेला फुटबल भनेकै ४-४-२ को शैलीमा खेलिन्थ्यो । त्यो भन्दा अगाडि चाहिँ हाम्रा क्लबहरूले लेफ्ट आउट र राइट आउट भनेर खेल्थे । अहिले विंगर राखेर त्यसरी खेल्ने गरिन्छ । त्यो बेला एकजना फरवार्ड राखेर लेफ्ट आउट र राइट आउट भनेर लगभग ४-३-३ कै शैलीमा खेल्ने चलन थियो । तर राष्ट्रिय टिमले भने ४-४-२ कै शैली अपनाउने गरेको थियो । 

सन् १९८१ मा पनि नेपालले २३ औं युथ एसियाली फुटबल प्रतियोगिता आयोजना गरेको थियो । २४ टिमले सहभागिता जनाएका थिए । त्यतिबेला नेपालको टिमबाट राष्ट्रिय टिमका रूपकराज शर्मा र अशोक केसीबाहेक सबैले खेलेका थिए । त्यो प्रतियोगतामा नेपालले भारतलाई ४-१ को नतिजामा हराएको थियो । त्यहीँबाट पनि अन्तर्राष्ट्रिय खेलमा नेपालले जित्न सक्छ भन्ने मानसिकता विकसित भएको हो । 

त्यतिबेला नेपालले भारतलाई हराए पनि इराकसँगको खेल ७-० को नतिजामा सुम्पियो । कुवेतविरुद्ध अन्तिम खेल थियो । कुवेतलाई अघिल्लो चरणमा पुग्न नेपाललाई ७ गोलभन्दा धेरैको अन्तरमा हराउनैपर्ने थियो । तर ४-० भन्दा धेरै गोल नहुने जस्तो भएपछि दुई टिमबीच झगडा भयो । खेल नै रद्द भयो । त्यो बेलाको अन्तर्राष्ट्रिय फुटबल पनि त्यस्तै थियो । कुवेतले नेपाली खेलाडीलाई प्रलोभनमा पार्ने प्रयास पनि गरेका थिए । तर नेपाली खेलाडीहरू प्रलोभनमा परेनन् । 


सन् १९८२ एसियाली खेलकुदबाट नेपालले सिनियर फुटबलमा औपचारिक रूपमा अन्तर्राष्ट्रिय खेल खेल्न थाल्यो । नेपालले त्यो प्रतियोगितामा इराक, कुवेत र म्यानमारसँग खेलेको थियो ।
 
एसियाली खेलकुदमा फुटबलको स्पर्धालाई फिफाले विश्वकप छनोटको पनि मान्यता दिएको थियो । कुवेतसँग नेपाल ३-१ को नतिजामा पराजित भएको थियो । संयोग कस्तो भने नेपालमाथि साँघुरो जित पाएको कुवेत विश्वकपका लागि छनोट भएको थियो । 

त्यतिबेला फुटबल संघ भए पनि प्रतियोगिताहरू गर्ने काम तथा सम्पूर्ण गतिविधि राष्ट्रिय खेलकुद परिषद्ले नै गथ्र्‍यो । लिग हुन्थ्यो । राजाको नाममा शुभजन्मोत्सव कप हुने गथ्र्‍यो । त्रिभुवन च्यालेन्ज सिल्ड हुन्थ्यो । विराटनगर र वीरगन्जमा महेन्द्र गोल्डकप हुन्थ्यो । त्योबाहेक अन्य फुटबल गतिविधि खासै हुँदैनथ्यो । फुटबल संघमा पदाधिकारीहरू सबै भए पनि ती सबै गतिविधि परिषद्ले नै गर्ने गरेको थियो । एन्फासँग त कार्यक्रम गर्न पैसा पनि हुँदैनथ्यो । 

सन् १९८४ मा पहिलो दक्षिण एसियाली खेलकुद (साफ) भयो । त्यो बेला भारत सहभागी थिएन । प्रतियोगिता राउन्ड रोबिन पद्धतिमा खेलाइएको थियो । त्यतिबेला खेल्ने शैलीमात्र होइन कि खेल्ने मैदान राम्रो हुनुपर्छ भन्ने मान्यता पनि थिएन । हिलाम्ये मैदानमा खेल्नुपर्ने बाध्यता थियो । हिलाम्ये मैदानमा अन्तर्राष्ट्रिय खेल हुनु सामान्य विषय थियो । पहिलो साफमा नेपालले स्वर्ण पदक जित्यो । त्यतिबेला नेपाली टिममा विदेशी प्रशिक्षक जोन फिगी थिए ।  

नेपालले १९८२/८३ तिरदेखि थाइल्यान्डमा किंग्स कप खेल्न थालेको हो । तर त्यतिबेला अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न विदेश जाने चाहिँ एकदमै कम हुने गथ्र्‍यो । नेपालले पनि एन्फा कप भनेर फुटबल प्रतियोगिता आयोजना गर्‍यो । राष्ट्रिय फुटबल टिम नै एन्फा नीलो र रातोको नाममा बाँडिएर यही एन्फा कपमा रमाउने गर्थे । विदेशमा गएर धेरै प्रतियोगिता खेलिँदैनथ्यो ।

नेपाली फुटबल इतिहासमा सन् १९८२ पछि विदेशी प्रशिक्षक आएको देखिन्छ । पहिलो विदेशी प्रशिक्षकका रूपमा जर्मनीका रुडी गुटिनडफ आएपछि नेपाली फुटबलमा धेरै परिवर्तन भयो । 

उनले नेपालको खेल्नेशैली नै परिवर्तन गरेका थिए । ओभरल्यापको सिस्टममा नेपाली खेलाडीले खेल्न थालेको त्यसपछि मात्र हो । त्यसपछि हाम्रा रक्षकहरूले पनि ओभरल्यापमा गएर क्रस गर्न थाले । उनको आगमनसँगै नेपाली फुटबलमा एकखाले क्रान्ति नै भयो । त्यसपछि नेपाली टोलीको संरचना नै फेरियो । 

गुटिनडफपछि १९९७ मा एकजना रुसी मूलका प्रशिक्षक नेपाल आएका थिए । रुस र जर्मनीमा पनि प्रशिक्षण गराइसकेका उनी अनुभवी र उच्चस्तरीय प्रशिक्षक थिए । उनीबाट पनि त्यो बेला अन्तर्राष्ट्रिय फुटबलमा प्रचलित आधुनिक शैलीको निरन्तरता भयो ।

८० को दशकमा आएका विदेशी प्रशिक्षकहरूले नेपाली खेलाडीको खेल्नेशैलीमा मात्र परिवर्तन गरेनन् । उनीहरूकै आगमनबाट भद्रगोल तरिकाले खेलिने नेपाली फुटबलका अन्य थुप्रै पक्ष व्यवस्थित भए र खेलाडीहरूले धेरै सिक्ने मौका पाए । 

नेपाली खेलाडीका लागि गुटिनडफ आउनुअघिसम्म ओभरल्यापमा गएर खेल्नुपर्छ भन्ने थाहै थिएन । त्यो नेपाली खेलाडीले सिक्न पाए । साथै खेलाडीहरू शारीरिक रूपमा पनि बलियो हुनुपर्छ भन्ने दर्शन विदेशी प्रशिक्षकहरूको आगमनपछि विकास भयो । खेलाडीलाई नागार्जुनतिर भारी बोकाएर दौडाउने गरिन्थ्यो । खेलाडीमा स्ट्रेन्थ हुनुपर्छ भन्ने थियो । 

नेपाली टिमले १९८९ मा पश्चिम जर्मनीमा एक महिना विशेष प्रशिक्षण गरेको थियो । नेपाली फुटबल टिम त्यहाँबाट फर्किएर इस्लामाबाद (साफ) मा खेल्न गयो । जहाँ नेपालको प्रदर्शन एकदम नराम्रो भयो । त्यतिबेलाका प्रशिक्षकले प्रत्येक खेलमा कप्तान परिवर्तन गरेका थिए । त्यसबाट के प्रमाणित भयो भने शारीरिक रूपमा बलियो भएर वा खेलाडीमा स्ट्रेन्थ भएर मात्र हुँदैन । भित्री मनदेखि खेलिएन भने जित्न सकिँदैन भन्ने कुरा त्यो प्रतियोगिताबाट प्रमाणित भयो ।

सन् १९९१ मा नेपालले श्रीलंकामा साफमात्र खेल्यो । जहाँ नेपाल सबै खेलमा पराजित भएको थियो । त्यतिबेलै जर्मनीका होल्गर ओभरम्यान प्राविधिक सल्लाहकार भएर नेपाल आएका थिए । नेपाली फुटबलमा ओभरम्यानले ठूलै क्रान्ति ल्याए । १९९० र २००० को दशकमा नेपाली फुटबलले जे-जति सफलता हासिल गर्‍यो, ती सबैमा ओभरम्यानको ठूलो योगदान छ । 

उनले प्रतिभा पहिचानका लागि एउटा युवा फुटबल प्रतियोगिताको सोच ल्याए । त्यहीअनुसार सानमिगेल युथ फुटबल कप हुन थाल्यो । त्यहीँबाट प्रतिभा पहिचान गर्दै उनले खेलाडी छनोट गरे । 

उनले त्यतिबेलाका जल्दाबल्दा गोलकिपर मृगेन्द्र मिश्रलाई बेन्चमा राखेर उपेन्द्रमान सिंहलाई मौका दिएका थिए । त्यतिबेलाबाट नै हो, खेलाडी सिनियर भए पनि फर्ममा छैन भने जुनियरलाई मौका दिनुपर्छ भन्ने धारणा विकास भएको । त्यतिबेला युवा खेलाडीलाई राष्ट्रिय टिमको महत्वपूर्ण पोजिसनमा मौका दिने काम भएको थियो । 

सन् १९९३ ढाका साफमा शक्तिशाली खेलाडीलाई पनि टिममा नछान्ने र छानिए पनि बेन्चमा राख्ने जोखिम मोलेका थिए प्रशिक्षक धनबहादुर बस्नेतले । उनले त्यतिबेला नेपाली फुटबलका सबैभन्दा सुपरस्टार खेलाडी गणेश थापालाई टिममै समावेश गरेनन् । महेश्वर मुल्मी उनका सहायक थिए । नेपालले फाइनलमा टाइब्रेकरसम्म मिहिनेत गर्दै भारतलाई हराएर उपाधि जितेको थियो । नेपालले विदेशी भूमिमा भारतलाई हराएर उपाधि जित्न सक्छ भन्ने प्रमाणित भएको थियो । 

उपाधि जित्यो, तर त्यस बेलासम्म पनि नेपालको आधारभूत रणनीति भनेको रक्षात्मक खेल्ने हुन्थ्यो । भरसक गोल नखाने र खेललाई टाइब्रेकरमा धकेल्न प्रत्येक खेलमा नेपालको प्रयास हुने गथ्र्‍यो । नेपालले त्यतिबेलासम्म आक्रामक फुटबल नै खेल्दैनथ्यो । 

सन् १९९८ मा कोरियन प्रशिक्षक यो की ह्योङ नेपाल आए । उनले खेलाडी शारीरिक रूपमा बलियो हुनुपर्छ भन्नेमा जोड दिए । न्युट्रिसियनमा पनि विशेष ध्यान दिए । उनी भन्ने गर्थे, ‘नेपालीहरू कुखुराको मासुमात्र खान्छन् अनि कुखुरा जस्तै हुन्छन् । गाई नखाए पनि नेपालीहरू भैंसी खान्छन् नि । भैंसीको मासु खायो भने त्यस्तै बलियो भइन्छ । आधुनिक फुटबलमा खेलाडीहरू बलियो हुनुपर्छ ।’

सन् १९९९ मा स्टेफन कन्सटेनटाइन आए । उनले खेलाडीलाई मोटिभेट गर्ने काम गरे । उनले फुटबलर र फुटबलको क्रेज बढाउने काम गरे । तथापि उनले टिम र टिमको खेल्नेशैलीमा धेरै परिवर्तन गरेनन् । तर, क्रेज बढाउन उनको भूमिका महत्वपूर्ण छ । 

सन् १९९९ बाट नेपालमा युथ एकेडेमीको स्थापना भयो । त्यो एकेडेमीका खेलाडीले २००५ को डिसेम्बरमा पाकिस्तानको कराँचीमा भएको चौथो साफ च्याम्पियनसिपबाट राष्ट्रिय टिममा डेब्यु गरे । त्यतिबेला जापानी प्रशिक्षक तोसिहिरो सिवाजावाले टोलीको नेतृत्व गरेका थिए । 

बेसिक फुटबल जानेका एन्फा एकेडेमीको उत्पादन आएपछि राष्ट्रिय टिममा आत्मविश्वास चाहिँ बढेको छ । फुटवर्क राम्रो भएका खेलाडी आएकाले नेपाली टिमले त्यसपछि पास खेल्न थाल्यो । बल पोसेसन धेरै राख्न नसके पनि पास खेल्ने बानीको विकास भयो । सानो कद भए पनि बल राखेर खेल्न सकिन्छ भन्ने मनोबलको विकास भएको थियो । 

सन् २००४ मा युवा विकास परियोजना निर्देशकका रूपमा एकेडेमी र विकास कार्यक्रम हेर्ने गरी नेपाली फुटबलमा श्याम थापाको आगमन भएको थियो । सुरुमा उमेर समूहका राष्ट्रिय टोलीलाई नेतृत्व प्रदान गरेका थापाले २००६ बाट राष्ट्रिय टिममा पनि मुख्य प्रशिक्षकको जिम्मेवारी लिए । थापाको आगमनपछि विपक्षी टिमको रणनीतिअनुसार खेल्नुपर्छ भन्ने मान्यताको विकास भयो । नेपाली टिमलाई विशेष गरी विपक्षीको रणनीतिअनुसार खेल्नसक्ने बनाउने श्रेय थापामै जान्छ । 

नेपाली फुटबलको एउटा सधैंको दुःख छ, खेल्ने विपक्षी प्रायः आफूभन्दा बलिया हुन्छन् । त्यसैले थाापाले बल पोसेसन बढी राख्ने, सुरक्षित क्षेत्रमा बढीभन्दा बढी खेल्ने र एकजनामात्र फरवार्ड राखेर काउन्टर अट्याकमा गोलको अवसर खोज्ने खालको फुटबल शैलीलाई बढावा दिए । 

अधिकांश खेलमा ४-५-१ को शैलीमा टिम उतारेका थापाले नै आधुनिक फुटबलमा पछिल्लो समय फल्सनाइन भनिने र परम्परागत शैलीको थर्डम्यानको सोच नेपाली फुटबलमा भित्र्याए । फिटनेसलाई सबैभन्दा बढी महत्व दिने थापा भन्ने गर्थे, ‘आधुनिक फुटबलमा सय प्रतिशत फिटनेसले पुग्दैन, खेलाडी दुई सय प्रतिशत फिट हुनुपर्छ ।’

थापाको त्यो शैली धेरै हदसम्म सफल भयो । उमेर समूहअन्तर्गत २००४ को एएफसी यू-२० एसियन कपमा नेपालले भियतनाममाथि ऐतिहासिक जित दर्ता गरायो । २००६ को च्यालेन्ज कपमा भारतमाथि ३-० को एकतर्फी जित हासिल गर्‍यो । त्यतिमात्र होइन, च्यालेन्ज कपको पहिलो संस्करणमा त्यतिखेर नेपाल सेमिफाइनलसम्म यात्रा तय गर्न सफल भयो । सेमिफाइनलमा तत्कालीन टोलीका भरपर्दा खेलाडी प्रदीप महर्जनले दुई पटक पेनाल्टी खेर फाल्दा मात्र टोली फाइनल पुग्नबाट वञ्चित भएको थियो ।

थापा नेतृत्वको अर्को ‘हाइलाइट’ विश्वकप छनोटअन्तर्गत ओमानसँगका दुई खेल पनि हुन् । विश्वकप २०१० को छनोटअन्तर्गत २००७ मा भएको ओमानविरुद्धको घरेलु र अवे दुवै खेलमा नेपाल २-० को नतिजामा पराजित भएको थियो । पराजित नै भए पनि त्यो नेपाली फुटबलका लागि सुखद नतिजा थियो । ओमानले २०१० को विश्वकपमा छनोट हुन १ करोड डलर खर्चेर विशेष योजना बनाएको थियो । अघिल्लो चरण पुग्न ओमानलाई फराकिलो अन्तरको जित आवश्यक थियो । तर दुवै लेगमा २-० को जितमा सीमित हुँदा ओमानको महँगो विश्वकप लक्ष्य असफल भएको थियो ।
 

सन् २००८ को एएफसी च्यालेन्ज कपमा टिमको नेतृत्व लिएका विराटकृष्ण श्रेष्ठले परिआएको खण्डमा पुरै सेट परिवर्तन गर्ने हिम्मत गरे । ‘टिमका सबै खेलाडी समान हुन्छन् । सबैले उत्तिकै राम्रो खेल्न सक्छन्’ भन्ने श्रेष्ठको मान्यता थियो । जसलाई उनले हैदराबादमा प्रमाणित पनि गरे । 

श्रेष्ठ आउनुअघि नेपाली फुटबलमा अर्का एक ‘हाइप्रोफाइल’ प्रशिक्षकको आगमन भएको थियो । एएफसीको प्राविधिक निर्देशकको जिम्मेवारी सफलतापूर्वक निर्वाह गरिसकेका, जर्मन बुन्डेसलिगाको टोली साल्केको १९ वर्षमुनिको टोलीका पूर्वप्रमुख प्रशिक्षक थोमस फ्लाथले छोटो समय नेपाली फुटबलको नेतृत्व गरे । काइजर्सलौटनका पूर्वखेलाडी फ्लाथको नेतृत्वमा नेपालले २००८ मा एएफसी च्यालेन्ज कपको छनोट र पाँचौं साफ च्याम्पियनसिप खेल्यो । 

एक महिनामात्र नेपाली टोलीसँग रहेका फ्लाथले नेपाली फुटबल विकासका लागि दीर्घकालीन योजनाको सुरुवात गर्न खोजे पनि उनको कार्यकाल लामो नहुँदा त्यसले निरन्तरता पाएन । 

सन् २००७ देखि नै नेपालले मैत्रीपूर्ण खेल खेल्न सुरु गरेको थियो । त्यसपछि नेपालको अन्तर्राष्ट्रिय खेलसंख्यामा उल्लेख्य वृद्धि भयो । खेलाडीले कठिन खेलका अनुभव नियमित रूपमा पाउन थाले । 

सन् २०१० मा टोटेनह्यामका युरोपा लिग विजेता कप्तान ग्राहम रोबर्टस मुख्य प्रशिक्षकका रूपमा नेपाली राष्ट्रिय टिमसँग जोडिए । नेपाली फुटबलले विस्तारै पास खेल्ने, बल पोसेसन राख्ने, विपक्षीअनुसार रणनीतिमा मैदान उत्रिनेलगायतका पक्षमा आफूलाई अभ्यस्त बनाउँदै थियो । सुन्दर फुटबल नेपाली राष्ट्रिय टोलीको पहिचान बन्न थालिसकेको थियो । 

तर ग्राहमको आगमनसँगै फेरि नेपाली फुटबलको तरिका फेरियो । ग्राहमले साइडबाट खेल्दै अगाडि बढ्ने र क्रसमार्फत आक्रमण बुन्ने शैलीमा जोड गरे । होचो कदका नेपाली खेलाडीलाई उनको एयर बलबाट आक्रमण गर्ने शैलीमा नतिजा निकाल्न सहज थिएन । 

तर, सन् २०११ मा भारतको नयाँ दिल्लीमा भएको साफ च्याम्पियनसिपमा पहिलो पटक सेमिफाइनलसम्म यात्रा गरेर उनले नेपाली समर्थकको मन जिते । समर्थक रिझाउन राम्ररी जानेका बेलायती प्रशिक्षकले नेपालमा भएको विश्वकप छनोटअन्तर्गतको खेलमा टिमोर लिस्टेमाथि ५-० को फराकिलो जित हासिल गर्दा दौरासुरूवाल लगाएर दशरथ रंगशालाको ट्र्याक परिक्रमा गरे । समग्रमा नेपाली फुटबलको सकारात्मक विकासक्रममा ग्राहमको पनि योगदान रह्यो, तर मैदानभित्र भन्दा बढी फुटबल संस्कार बलियो बनाउने काममा । 

सन् २०१५ तिर अर्का प्रभावकारी प्रशिक्षक बेल्जियमका प्याट्रिक अजेम्स नेपाल आए । उनले नेपाली टिमको संरचना परिवर्तन गरिदिए । उनले सिनियर खेलाडीलाई टिमबाहिर राखेर युवालाई मौका दिएका थिए । अजेम्स भन्ने गर्थे, ‘मेरो टिमले आज होइन, भविष्यमा राम्रो नतिजा ल्याउने छ ।’

भयो पनि त्यस्तै । सन् २०१५ को साफ च्याम्पियनसिपमा नेपालको नतिजा खराब भयो । तर त्यतिबेला बनेको टिमले बंगबन्धु गोल्डकपलगायतका प्रतियोगितामा लगातार विजय हासिल गरेको थियो । 

यो बीचमा जति प्रशिक्षक आए पनि नेपालको खेल्नेशैली भने परिवर्तन भएको छैन । फर्मेसनमा केही परिवर्तन भए होलान् तर अझै पनि नेपालले बल पोसेसन राखेर विपक्षीमाथि नियन्त्रण कायम गर्दै खेल्न सकेको छैन । 

प्रयोग गर्न नहिच्किचाउने विराटकृष्ण श्रेष्ठले परम्परागत नेपाली फुटबलमा परिवर्तन ल्याउने उद्देश्यमा केही खेल ३-५-२ को शैलीमा खेलाउने हिम्मत गरेका थिए । प्याट्रिकले ४-३-३ मा खेलाए । ४-५-१ श्याम थापाकालको प्रिय शैली थियो । नत्र अधिकांश प्रशिक्षकले ४-४-२ मै खेलाएका हुन् ।

नतिजाका हिसाबमा राजुकाजी शाक्य र बालगोपाल महर्जन नेपाली फुटबलका सफल प्रशिक्षक हुन् । शाक्यले नेपाललाई दक्षिण एसियाली खेलकुद (पहिलाको साफ, हालको साग) मा स्वर्ण पदक जिताए । यसैगरी महर्जनको नेतृत्वमा नेपालले दक्षिण एसियाली खेलकुद (पहिलाको साफ, हालको साग) तथा बंगबन्धु गोल्डकपको उपाधि जित्यो । तर उनीहरूले पनि विद्यमान शैलीमै खेलाएर उपाधि जितेका थिए । उनीहरूले उपाधि जितिरहँदा नेपालको खेल्नेशैली परिवर्तन गर्नुपर्ने आवश्यकता देखेनन् ।

झन्डै तीन दशकको औपचारिक यात्रा अर्को वर्ष पूरा गर्ने तयारीमा रहेको नेपाली टोलीमा यसबाहेक पनि हालका एन्फा उपाध्यक्ष कृष्ण थापा, ध्रुव केसी, अमेरिकी नागरिक ज्याक स्टेफानोस्कीलगायत थुप्रै प्रशिक्षकले विभिन्न समयमा मुख्य प्रशिक्षकका रूपमा नेतृत्व गरे । तर सबैले विद्यमान शैलीलाई नै निरन्तरता दिँदै टिम उतारेका थिए ।

चैतमा आएका अल्मुताइरीको नेतृत्वमा नेपालले धेरै खेल खेल्न भ्याइसकेको छैन । खेलभन्दा बढी मैदानबाहिरका विषयमा उनी छाउने गरेका छन् । यसको मतलब मैदानभित्र उनले केही नगरेको भन्ने होइन । टिमलाई एकढिक्का बनाउन उनको ठूलो योगदान रहेको छ । 

अल्मुताइरीको नेतृत्वमा खेलेका चारमध्ये तीन खेलमा पराजय भोगेको छ । मैत्रीपूर्ण खेलमा इराकसँग ६-२ ले निरीह भएको नेपाल विश्वकप तथा एसियन कप छनोटअन्तर्गतको खेलमा चाइनिज ताइपेईलाई २-० को नतिजामा पराजित गर्‍यो । यसैगरी अस्ट्रेलिया र जोर्डनसँग ३-० को अन्तरमा पराजित भएको थियो ।