सहिद स्मारक सी डिभिजन लिग

मनोहराको तेस्रो जित

काठमाडौं । सहिद स्मारक ‘सी’ डिभिजन लिगमा शुक्रबार मनोहरा युनाइटेड क्लबले पुल्चोक स्पोर्टस् क्लबलाई २–१ ले पराजित गरेको छ । लिगमा मनोहराको यो तेस्रो जित हो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सममा सम्पन्न खेलमा मनोहराको लागि विक्रम राना मगर र नवीनबहादुर थापा मगरले एक/एक गोल गरे । पुल्चोकका सिरब तामाङले एक गोल फर्काए ।

खेलको ८७औं मिनेटमा विक्रमले गरेको गोलबाट मनोहराले अग्रता लिएको थियो । तर, त्यसको एक मिनेट नबित्दै सिरबले गोल फर्काउदै पुल्चोकलाई बराबरीमा फर्काएका थिए ।

यस्तै, खेल सकिन एक मिनेट बाँकी हुँदा नवीनले मनोहराका लागि निर्णायक गोल गर्दै जित पक्का गरे ।

जितसँगै मनोहराले लिगमा पाँच खेलबाट १० अंक जोडेको छ । यस्तै, समान खेल खेलेको पुल्चोकले तीन अंक जोडेको छ ।

‘सी’ डिभिजन लिगमा सहभागि १४ टोलीमध्ये शीर्ष दुई टोली दोस्रो डिभिजन लिगमा बढुवा हुनेछन् भने पुछारका दुई टोली ‘सी’ छनोटमा घटुवा हुनेछन् ।