च्याम्पियन्स लिग

मड्रिड सबै कुराको लागि योग्यः कोर्टुवा

मड्रिड । म्यानचेस्टर सिटीविरुद्ध समग्रमा ६–५ को जित निकालेपछि गोलकिपर थिबाउट कोर्टुवाले रियाल मड्रिड सबै कुराको लागि योग्य रहेको बताएका छन् ।

बुधबारको जितसँगै मड्रिड च्याम्पियन्स लिगको इतिहासमा प्रि–क्वार्टरफाइलन, क्वार्टरफाइनल र सेमिफाइनलको पहिलो लेगमा हारका बावजुद फाइलन पुग्ने पहिलो बन्यो ।

मड्रिड प्रि–क्वार्टरको पहिलो लेगमा पेरिस सेन्ट जर्मन (पिएसजी), क्वार्टरफाइनलमा चेल्सी र सेमिफाइनलको पहिलो लेगमा सिटीसँग पराजित भएको थियो ।

पहिलो लेगमा ४–३ को जित र दोस्रो लेगको ७३औं मिनेटमा रियाद महारेजले गोल गरेसँगै सिटी फाइनलमा पुग्ने अनुमान थियो । तर, खेलको अन्तिम ९० सेकेन्डमा रोड्रिगोले दुई गोल गरेपछि मड्रिड खेलमा फर्किएको थियो । यस्तै, अतिरिक्त समयमा करिम बेन्जेमाले निर्णायक गोल गरेसँगै मड्रिडले सनसनीपूर्ण जित निकालेको थियो ।

‘यो टिम र क्लब सबै कुराको लागि योग्य छ । हामीले अन्तिम समयसम्म विश्वासलाई कायम राख्यौं । र, हामीले जितलाई सम्भव पनि बनायौं,’ कोर्टुवाले भने ।

मड्रिडले उपाधि लागि मे २९ मा लिभरपुलविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।