इङ्लिस प्रिमियर लिग

युनाइटेडले सरुवा बजारमा राम्रो लगानी गर्न आवश्यक छः रागनिक

लन्डन । म्यानचेस्टर युनाइटेडका अन्तरिम प्रशिक्षक राल्फ रागनिकले टोलीले सोचे अनुरुपको नतिजा ल्याउन टोलीमा अझै क्षमतावान खेलाडी थप गर्नुपर्ने बताएका छन् ।

युनाइटेड जारी सिजन इङ्लिस प्रिमियर लिगको छैटौं स्थानमा छ । युनाइटडले पछिल्लो पाँच सिजन कुनै पनि उपाधि जित्न सकेको छैन । 

यस सिजन युनाइटेडको शीर्ष चारमा बस्दै आगमी सिजन च्याम्पियन्स लिग खेल्ने लक्ष्य कमजोर बनिसकेको छ । युनाइटेड चौथो स्थानको आर्सनल भन्दा पाँच अंकले पछि छ । युनाइटेडले आर्सनल भन्दा दुई खेल बढी खेलिसकेको छ ।

रागनिकले युनाइटेडले  म्यानचेस्टर सिटी र लिभरपुलजस्तै आफूलाई उपाधि दाबेदारको रुपमा उभ्यानका लागि थप लगानी गर्दै उत्कृष्ट खेलाडीहरु भित्राउनु पर्ने बताए ।

‘यदि सबैले मिलेर काम गरेमा म्यानचेस्टर युनाइटेडलाई स्वभाविक लयमा फर्काउन सकिन्छ भन्नेमा विश्वस्त छु, उनले भने, ‘अन्य क्लबहरुजस्तै आफूलाई उपाधि दाबेदारको रुपमा उभ्याउनका लागि सरुवा बजारमा राम्रो लगानी गर्न आवश्यक छ ।