एन्फा

बन्द प्रशिक्षणबाट भागेका खेलाडीलाई पुनः टोलीमा समावेश गर्दिनः अल्मुताइरी

काठमाडौं ।  नेपाली रााष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी बन्द प्रशिक्षण छोडेका खेलाडीहरुलाई पुनः टोलीमा स्थान दिन नसकिने बताएका छन् ।

अल्मुताइरीले राष्ट्रिय टोलीको खेलाडीहरुलाई बन्द प्रशिक्षण छोड्न नभनेको र उनीहरुले आफू खुशी होटलबाट भागेको बताएका छन् ।

बुधबार राष्ट्रिय टोलीको बन्द प्रशिक्षणबाट बाहिरिएका नौ खेलाडीले पत्रकार सम्मेलन गर्दै प्रशिक्षक अल्मुताइरीको व्यहारबाट आजित भएको र आफूहरुले जायज माग राख्दा समेत प्रशिक्षण छोडेर जान भनेकाले कठिन कदम उठाएको बताएका थिए । 

सो विवादपछि पनि अल्मुताइरीले १७ खेलाडी थप गर्दै राष्ट्रिय टोलीको प्रशिक्षणलाई निरन्तरता दिएका थिए ।

अखिल नेपाल फुटबल संघ (एन्फा) लाई लेखिएको पत्रमा अल्मुताइरीले खेलाडीले आफूमाथि लगाएको आरोपले दुखी बनाएको बताएका छन् ।

‘पछिल्लो समयमा राष्ट्रिय टोलीमा जुन घटना घट्यो त्यसबाट म दुखी छु,’ अल्मुताइरीले लेखेका छन्, केही खेलाडीले सार्वजनिक रुपमै ममाथि आरोप लगाएका छन् । मैले सधै नेपाली फुटबलको विकासका लागि राम्रो काम गरे जस्तो लाग्छ र म यो जिम्मेवारीलाई निरन्तरता  दिन चाहन्छु । '

अल्मुताइरीले ती खेलाडीहरुलाई आफूले माफी दिएको र उनीहरुलाई कारबाही नगर्न समेत एन्फा समक्ष आग्रह गरेका छन् । 

‘मुख्य प्रशिक्षक र छनोटकर्ताको नाताले टोली कस्तो बनाउने र कसलाई टोलीमा राख्ने भन्ने अधिकार पनि मसँग हुन्छ’ अल्मुताइरीले उल्लेख गरेका छन्, ‘त्यसैले म एसियन कप छनोट खेल्न जाने टोलीमा बन्द प्रशिक्षण छोडेर गएका खेलाडीलाई समावेश गर्न सक्दिन । यो टोलीका लागि राम्रो निर्णय हुनेछ । आशा छ एन्फाले मेरो आग्रह स्विकार गर्दै मलाई स्वतन्त्र रुपमा जिम्मेवारी पूरा गर्न दिनेछ ।’