साफ च्याम्पियनसिपको तालिका फेरबदल

काठमाडौं, (खेलाडी)- १३औं साफ च्याम्पियनसिपको यसै हप्ता जारी भएको खेल तालिका परिवर्तन भएको छ ।

आयोजक दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले माल्दिभ्समा हुने आसन्‍न साफ च्याम्पियनसिपको खेल तालिकामा शनिबार प्रतियोगिताको समय थप गरेर सार्वजनिक गरेको छ । पछिल्लो तालिकामा ३ दिन थप गरिएको छ । 

यसअघि प्रतियोगिता असोज १५ देखि २७ गतेसम्मका लागि तय भएको थियो । नयाँ तालिका अनुसार साफ च्याम्पियन असोज १५ गतेदेखि ३० गतेसम्म हुनेछ । 

प्रतियोगिताको उद्घाटन खेलमा नेपालले माल्दिभ्ससँग खेल्नेछ । खेल असोज १५ गते हुनेछ ।  असोज १८ गते हुने दोस्रो खेलमा नेपालले श्रीलंकासँग खेल्नेछ भने असोज २४ गते भारत र असोज २७ गते बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ । फाइनल खेल ३० गते हुनेछ ।

 

 

प्रतियोगिताको सम्पूर्ण खेल राजधानी मालेस्थित राष्‍ट्रिय फुटबल मैदानमा हुनेछ । ५ देशको सहभागिता रहेको प्रतियोगिता यसपटक राउण्ड रोबिन पद्दतिमा प्रतिस्पर्धा गराएर फाइनलका लागि दुई टोली छनोट गरिनेछ । राउन्ड रोबिन लिगका शीर्ष दुई टोली फाइनल पुग्‍नेछन् । 

फिफाको प्रतिबन्धका कारण पाकिस्तानले यसपाली प्रतियोगितामा भाग लिन पाउने छैन । यस्तै भुटानले भने कोभिड १९ को कारण देखाउँदै प्रतियोगिताबाट नाम फिर्ता लिएको छ ।

केही दिनअघि सार्वजनिक तालिकामा लिग चरणपछि फाइनलका लागि एक दिनकोमात्र विश्राम राखिएको थियो । पछिल्लो तालिकामा भने त्यसलाई बढाएर तीन दिन बनाइएको छ ।

प्रतियोगिताका लागि नेपाली राष्‍ट्रिय फुटबल टोली यतिबेला पर्यटकीय शहर पोखरामा अभ्यास गरिरहेको छ ।