साफ च्याम्पियनसिपमा पराजित भए जिम्मेवारी लिन्छु : अल्मुताइरी

काठमाडौं, (खेलाडी)- नेपाली राष्‍ट्रिय फुटबल टोलीका कुवेती प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले आगामी असोजमा हुने १३औं दक्षिण एसियाली फुटबल (साफ) च्याम्पियनसिपमा नेपाल उपाधिविहिन भए त्यसको जिम्मेवारी आफूले लिने बताएका छन् । 

शुक्रबार अखिल नेपाल फुटबल संघ (एन्फा)ले सार्वजनिक गरेको अन्तरवार्तामा बोल्दै प्रशिक्षक अल्मुताइरीले १३ औं साफ च्याम्पियनसिप जिते त्यसको श्रेय खेलाडीलाई दिने र उपाधिविहिन भए त्यसको जिम्मा आफूले लिने बताएका हुन् ।

‘नेपालले अहिलेसम्म साफ च्याम्पियनसिप जित्‍न सकेको छैन । साफ च्याम्पियनसिप हाम्रो लागि धेरै महत्वपूर्ण छ । यदि साफ च्याम्पियनसिप हार्‍यौं भने मेरो गल्ती हुन्छ । जित्यो भने त्यसको श्रेय खेलाडीलाई जानेछ,’ अल्मुताइरीले एन्फा मिडियासँग कुरा गर्दै भनेका छन् ।

यस्तै प्रशिक्षकले साफ अघि खेलाडीलाई दबाब नदिन आह्‍वान गरेका छन् । यसअघि समेत विभिन्‍न कुराकानीमा खेलाडीलाई दबाब नदिन आग्रह गरेका अल्मुताइरीले फेरी त्यही आग्रह दोहोर्‍याए । 

‘साफ च्याम्पियनसिप धेरै महत्वपूर्ण छ । त्यसैले खेलाडीलाई दबाब नदिउं,’ गत चैतदेखि नेपाली टोलीको नेतृत्व सम्हालेका प्रशिक्षक अल्मुताइरीले भने । 

यतिबेला नेपाली टिम पर्यटकीय शहर पोखरामा तयारी गरिरहेको छ । १५ दिनका लागि पोखरामा तयारी गर्न पुगेको टोलीबाट प्रशिक्षक अल्मुताइरीले खेलाडी छनोट गर्दै २८ खेलाडीमा झारेका छन् । 

आगामी साफ च्याम्पियनसिप माल्दिभ्सको राजधानी मालेस्थित राष्‍ट्रिय फुटबल रंगशालामा हुने पक्का भएको छ । १३औं साफ च्याम्पियनसिप अक्टोबर १ देखि १६ (असोज १५ देखि २८) सम्म हुनेछ  । 

उद्घाटन खेलमा माल्दिभ्स र नेपाल भिड्नेछन् । नेपालले आफ्नो दोस्रो खेल असोज १७ गते श्रीलंका, तेस्रो खेल असोज २२ गते भारत र अन्तिम खेल असोज २५ गते बंगलादेशसँग खेल्नेछ ।

पाकिस्तान र भुटान यस पटक प्रतियोगितामा सहभागी हुने छैनन् । पाकिस्तान फिफा प्रतिबन्धमा छ भने भुटानले कोभिड १९ का कारण प्रतियोगिताबाट नाम फिर्ता लिएको हो । ५ टोली सहभागी प्रतियोगिता राउण्ड रोबिन पद्धतिमा खेलाइनेछ । त्यसपछि शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । 

यस अघि नेपालले भदौ १७ र २० मा भारतीय राष्ट्रिय फुटबल टोलीसँग दुई मैत्रीपूर्ण खेल खेल खेल्दैछ । प्रशिक्षक अल्मुताइरीले साफ च्याम्पियनसिपको लागि यो मैत्रीपूर्ण खेलले राम्रो तयारी हुने समेत बताए ।

प्रशिक्षक अल्मुताइरीले पहिलो खेल सधै कठिन हुने र यसपाली आयोजक माल्दिभ्ससँग रहेकोले सहज नरहेको स्विकारे । 

‘यो खेल निकै गाह्रो हुन्छ । हामी पहिलो खेलनै आयोजकसँग खेल्दैछौं । उनीहरु साविक विजेता पनि हुन्,’ प्रशिक्षक अल्मुताइरीले भने ।

यस्तै प्रशिक्षक अल्मुताइरीले प्रशिक्षणसँगै खेलाडीलाई आगामी दिनमा प्रशिक्षक लाइसेन्सको लागि पोख्त बनाइरहेको प्रतिक्रिया दिएका छन् ।