गुल्सन झा पहिलो पटक राष्‍ट्रिय टिममा

काठमाडौं, (खेलाडी)- विश्‍वकप लिग-२ अन्तर्गत ओमानमा हुने एकदिवसीय त्रिकोणात्मक शृंखला र पपुवा न्युगिनी ( पिएनजी) विरुद्ध हुने खेलका लागि नेपाली राष्‍ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ ।

शनिबार नेपाल क्रीकेट संघ (क्यान) ले त्रिकोणात्मक शृंखलाका लागि ज्ञानेन्द्र मल्लको कप्तानीमा १७ सदस्यीय टोली घोषणा गरेको हो । 

शनिबार घोषित टोलीमा गुल्सन झालाई पहिलो पटक राष्‍ट्रिय टोलीमा समावेश गरिएका छन् । विभागीय टोली नेपाल पुलिस क्लबबाट काठमाडौंमा भएको मेयर्स कपमा उत्कृष्‍ट प्रदर्शन गरेका झालाई मुख्य प्रशिक्षक डेभ ह्‍वाटमोरले पहिलो पटक मौका दिएका हुन् । 

गुल्सनसँगै कुशल भुर्तेल र आशिफ शेखले पनि पहिलो पटक एकदिवसीय राष्‍ट्रिय टिममा मौका पाएका छन ।

मंगलबार १७ खेलाडी ५ अधिकारी सहित २२ सदस्यीय टोली ओमान भ्रमणमा जानेछन् । जसमा यसअघि प्रशिक्षण सिविरमा रहेका १९ खेलाडीमा कमलसिंह ऐरी र साहब आलमले स्थान बनाउन सकेनन् । 

नियमित खेलाडी पारस खड्काले अन्तर्राष्‍ट्रिय खेलबाट संन्यास लिएपछि गुल्सनले पहिलो पटक राष्‍ट्रिय टोलीको प्रशिक्षणमा स्थान बनाएका थिए ।  गुल्सन पहिलो पटक राष्‍ट्रिय टोलीमा स्थान बनाएका हुन । 

नेपालमै भएको थ्री नेशन्स कपमा उत्कृष्‍ट प्रदर्शन गरेका कुशल भुर्तेल र आशिफ शेखले एकदिवसिय टिममा स्थान बनाएका हुन ।

नेपालले पपुवा न्युगिनी (पीएनजी)सँग दुई वटा एकदिवसीय खेलको शृंखला खेल्नेछ । खेल सेप्टेम्बर ५ र ८ तारिखमा हुनेछन । 

त्यसपछि नेपाली टिमले त्रिकोणात्मक शृंखला अन्तर्गत ओमान र अमेरिकासँग खेल्नेछ । यसपटकको टिममा रोहित पौडेल, शरद भेषावकर, विक्रम सोब र सोमपाल कामीले पुनरागमन जनाएका छन् । 

नेपाली टिम :

ज्ञानेन्द्र मल्ल, दिपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, गुलशन झा, आरिफ शेख, कुशल मल्ल, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, सन्दिप लामिछाने, पवन सर्राफ, अविनाश बोहरा, रोहित पौडेल, सुशन भारी, शरद भेषावकार, विक्रम सोव

मुख्य प्रशिक्षक : डेभ ह्‍वाटमोर
व्यवस्थापक : मोहम्मद दाउद अन्सारी
टेक्निकल एनालिस्ट : रमण सिवाकोटी
फिजियो : विक्रम न्यौपाने
ट्रेनर : राकेश काशिभाई गोहिल