खेलाडी-प्रशिक्षक मतभेद

खेलाडी–प्रशिक्षक विवादमा विष्णु गुरुङ, दुवै एकै रथका दुई पांग्रा हुन्, समाधान खोजौं

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी र असन्तुष्ट खेलाडीहरुबीचको जारी मनमुटावमा नेपाली टोलीका पूर्व सहायक प्रशिक्षक विष्णु गुरुङले पनि प्रतिकृया जनाएका छन् ।

गुरुङले शुक्रबार सामाजिक सञ्जालमा एक पोस्ट गर्दै यस विषयमा चाडोभन्दा चाडो समाधान निकालेर एसियन कपको तयारीमा बताएका छन् ।

‘नेपाली राष्ट्रिय फुटबल टोलीका हेड कोचले दिनुभएको रिजल्टमा हामी एकदम आभारी छौं । तर रिजल्टमा समानरुपमा खेलाडीको पनि उच्च प्रदर्श, मिहिनेत र त्यागको कदर छ । तसर्थ दुवै पाटो एकै रथका दुई पांग्रा हुन् । आशा गर्छु समसामयिक विषयमा सम्बन्धित निकाय र व्यक्तिले छिटो भन्दा छिटो निष्कर्ष निकालेर, आगामी एसियन कपको तयारीमा जुट्नुपर्छ । हामी फुटब विकास भएको हेर्न चाहन्छौं । अन्त्यमा फुटबलको विकास हुनुपर्छ, व्यक्ति र समूहको हैन । जय नेपाल, जय नेपाली फुटबल,’ गुरुङले लेखेका छन् ।

यसअघि गुरुङलाई अल्मुताइरीले आफ्नो सहायक प्रशिक्षकमा नियुक्त गरे पछि उनलाई हटाएका थिए ।