इङ्लिस प्रिमियर लिग

चेल्सीका जितमा पुलिसिकको निर्णायक गोल

लन्डन । क्रिस्टियन पुलिसिकको निर्णायक गोलप्रेरित चेल्सीले इंग्लिस प्रिमियर लिगअन्तर्गत आइतबार राति भएको खेलमा वेस्ट ह्याम युनाइटेडलाई १–० गोलको नतिजामा पराजित गरेको छ ।

चेल्सीको मैदान स्टाम्फोर्ड ब्रिजमा भएको खेलको अन्तिम मिनेटमा पुलिसिकले गरेको गोलसँगै घरेलु टोलीले कठिन जित निकाल्यो । मार्कोस एलोन्सोले दिएको पासलाई पेनाल्टी एरिया भित्रबाट प्रहार गर्दै चेल्सीका सब्स्टिच्युट खेलाडी पुलिसिकले गरेको गोल नै निर्णायक बनेको थियो ।

त्यसअघि ८७औं मिनेटमा वेस्ट ह्यामका क्राग डौसनले पेनाल्टी एरिया भित्र चेल्सीका बेल्जियन फरवार्ड रोमलु लुकाकुलाई लडाएपछि घरेलु टोलीले पेनाल्टी पाएको थियो । तर, इटालियन मिडफिल्डर जर्जिन्होको फितलो प्रहार वेस्ट ह्यामका पोलिस गोलकिपर लुकास फ्याबियान्स्कीले बचाउँदा चेल्सी अग्रता बनाउन चुकेको थियो ।

जितसँगै ६५ अंक बनाएको चेल्सीले चौथो स्थानको आर्सनलसँग पाँच अंकको स्पष्ट अग्रता बनाएको छ । यद्यपि, चेल्सीले आर्सनलभन्दा एक खेल कम खेलेको छ ।

पराजित वेस्ट ह्याम ५२ अंक जोडेर सातौं स्थानमा छ । आइतबार नै भएको अर्को खेलमा ब्राइटन र साउथह्यामटनले २–२ गोलको बराबरी खेल्दा बर्न्लीले वुल्भ्सलाई १–० गोलको नतिजामा पराजित गरेको छ ।