सहिद स्मारक सी डिभिजन लिग

झापाले समाज कल्याणलाई हराउँदा खालिबारी र स्पोर्टस एकेडेमी साँगाले अंक बाँडे

काठमाडौं । सहिद स्मारक ‘सी’ डिभिजन लिगअन्तर्गत आइतबारको पहिलो खेलमा झापा फुटबल क्लबले समाज कल्याण खेलकुद केन्द्रलाई ४–२ ले पराजित गर्दा तेस्रो खेलमा खालिबारी स्पोर्टस एकेडेमी २–२ को बराबरीमा खेलेका छन् ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा विशाल खवासले ह्याट्रिक गरेसँगै समाज कल्याणको २–० को अग्रता उल्टाउँदै झापाले जित निकालेको हो ।

समाज कल्याणका राकेश विश्वकर्मा र स्वागत राईले गोल गर्दै अग्रता दिलाए पनि झापाका विशालले ह्याट्रिक र सन्तोष लावतीले एक गोल गरे ।

यस्तै, आजको तेस्रो तथा अन्तिम खेलमा स्पोर्टस एकेडेमीका समन श्रेष्ठले नै दुबै गोल गरेका थिए । खालिबारीका दिवस बोहरा र सुदिप केसीले एक–एक गोल फर्काए ।