सहिद स्मारक सी डिभिजन लिग

महाविर र प्लानिङ ब्वाइजले अंक बाँडे

काठमाडौं । सहिद स्मारक ‘सी’ डिभिजन लिगअन्तर्गत आइतबारको दोस्रो खेलमा महाविर क्लब र प्लानिङ ब्वाइज युनाइटेडले बराबरी खेल्दै अंक बाँडेका छन् । महाविर र प्लानिङले १–१ को बराबरी खेले ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा रोमन तामाङले चौथो मिनेटमा फ्रिकिकमार्फत गरेको गोलबाट महाविरले अग्रता लिएको थियो ।

तर, ५५औं मिनेटमा दीपेश श्रेष्ठले गोल गरेपछि प्लानिङ ब्वाइज बराबरीमा फर्किएको थियो ।

बराबरीसँगै लिगमा महाविर र प्लानिङ दुबै टिमले समान दुई खेलबाट चार अंक जोडेका छन् ।

यसअघि भएको पहिलो खेलमा महाविरले स्पोर्टस एकेडेमी साँगालाई २–१ ले पराजित गरेको थियो ।

प्लानिङले पुल्चोक स्पोर्टस क्लबलाई १–० ले पराजित गरेको थियो ।