क्रिस्टियानो रोनाल्डो

रोनाल्डोको जुम्ल्याहा शिशुमध्ये छोराको मृत्यु

लिस्वन । पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डो र उनकी पत्नी जर्जिना रोड्रिगेजले नवजात जुम्ल्याहा शिशुमध्ये छोराको मृत्यु भएको पुष्टि गरेका छन् ।

सोमबार नवजात जुम्ल्याहा शिशुमध्ये एकको मृत्यु भएको रोनाल्डोले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका हुन् ।

केही दिनअघि रोनाल्डो र रोड्रिगेजले जुम्ल्याहा बच्चालाई जन्म दिएका थिए । उनले इन्स्टाग्राममा जुम्ल्याहा शिशुमध्ये छोराको मृत्यु भए पनि छोरी भने स्वस्थ रहेको लेखेका छन् ।

‘हामी दुखको साथ घोषणा गर्न चाहन्छौ कि हाम्रो छोराको मृत्यु भएको छ,’ म्यानचेस्टर युनाइटेडका स्ट्राइकर लेख्छन्, ‘अभिभावकले महसुस गर्ने यो सबैभन्दा दुखद क्षण हो । यो क्षणमा हाम्री छोरीको जन्मले मात्र हामीलाई खुसीसाथ जीवन अघि बढाउने प्रेरणा दिएको छ ।’

रोनाल्डोले इन्स्टाग्राममार्फत सबै डाक्टर तथा नर्सलाई धन्यवाद दिनुका साथै मृत्यु भएको छोरालाई पनि सम्झिएका छन् । रोनाल्डो लेख्छन्, ‘हाम्रो छोरा, तिमी हाम्रो एन्जल हौ । हामी तिमीलाई सधै मायाँ गर्नेछौ ।’