म्यानचेस्टर युनाइटेड

लिभरपुलविरुद्ध फर्नान्डेज उपलब्ध हुने रागनिकको पुष्टि

लन्डन । म्यानचेस्टर युनाइटेडका अन्तरिम प्रशिक्षक राल्फ रागनिकले कार दुर्घटनामा परे पनि मिडफिल्डर ब्रुनो फर्नान्डेजलाई कुनै चोट नलागेको कारण लिभरपुलविरुद्धको खेलमा उपलब्ध हुने पुष्टि गरेका छन् ।

सोेमबार बिहान फर्नान्डेज प्रशिक्षणमा आउने क्रममा कार दुर्घटनाका परेका थिए । केही अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले अर्काे गाडीले फर्नान्डेजको कारलाई ठक्कर दिएको र क्षतिको बारेमा जाँच गरिरहेको जनाएका थिए ।

तर, घटनामा संलग्न कसैलाई पनि चोट नलागेको र मंगलबार एनफिल्डमा हुने खेलका लागि फर्नान्डेज प्रशिक्षणका लागि तयार रहेको बताइएको थियो ।

रागनिकले पनि खेलअघिको प्रत्रकार सम्मेलनमा फर्नान्डेज लिभरपुलविरुद्ध मैदानमा उत्रिन तयार रहेको बताएका हुन् ।

‘दुर्घटना युनाइटेडको प्रशिक्षण गर्ने ठाउँमा भएको थियो । र, यसमा कोही घाइते भएका छैनन्,’ उनले भने, ‘फर्नान्डेजले टिमसँग प्रशिक्षण गरिरहेका छन्। मलाई लाग्छ उनी लिभरपुलविरुद्धको खेलका लागि पनि तयार छन् ।’