झापा जिल्ला फुटबल

जिल्ला फुटबल संघ झापाको अध्यक्षमा आले सर्वसम्मत

काठमाडौं । जिल्ला फुटबल संघ झापाको सोमबार सम्पन्न साधारण सभाले सर्वसम्मतिमा भगीरथ आलेलाई अध्यक्षमा चयन गरेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)को सदस्यता प्राप्त जिल्ला निर्वाचन अहिले धमाधम भइरहेको छ ।

आगामी चार वर्षे कार्यकालका लागि सोमबार चयन भएको कार्यसमितिका लागि उपाध्यक्षमा टिकाराम प्रसाईँ, मनिष दाहाल, सञ्जय राई समेटिँदा सदस्यमा पूर्णमाया सुब्बा लिम्बु, जीवन कुमार दर्जी, टंकराज सुब्बा, बसन्त श्रेष्ठ, अमिर कुमार श्रेष्ठ, नोभेम्बर विक्रम नेम्बाङ, वुद्धराज लिम्बु, किशोर कुमार कार्की र सन्तोष राई निर्वाचित भए ।

भोजपुर जिल्ला फुटबल संघको अध्यक्षमा निर्विरोध निर्वाचित भएका प्रविण सुवालको पर्यवेक्षणमा सोमबार सम्पन्न साधारण सभाले खोटाङ जिल्ला फुटबल संघको अध्यक्षमा ध्रुव विक्रमसहित उपाध्यक्षमा रोसेस श्रेष्ठसँगै समीर र उद्धव राईलाई पनि चयन गरेको थियो ।

आगामी चार वर्षे कार्यकालका लागि महासचिव पदमा काजीमान राई, कोषाध्यक्षमा रोशन राई, तथा सदस्यमा कमल चाम्लिङ राई, भानु राई, विनोद तिरुवा, सुमन पुमा र सनम राई निर्वाचित भएका थिए ।

यसअघि काभ्रे, भोजपुर, पर्सा, लमजुङ, नवलपुर, बाग्लुङ, बाँके, कैलाली, रुपन्देही, कञ्चनपुर, खोटाङ, सिरहालगायत जिल्लाको पनि नयाँ कार्यसमिति चयन भइसकेको छ । बारा जिल्लामा शनिबार हुने तय भएको निर्वाचन विवादका कारण स्थगित भएको थियो । एन्फाको केन्द्रिय निर्वाचनमा ४८ वटामध्ये ४५ वटा जिल्ला संघ मताधिकार प्राप्त गर्छन् ।

१४ वटा ए डिभिजन क्लब, १४ मध्ये ११ बी डिभिजन क्लब र १४ मध्ये ९ वटा सी डिभिजन लिगका क्लब, खेलाडी संघ, प्रशिक्षक संघ, महिला र रेफ्री संघ र राष्ट्रिय लिगका लागि छनोट भएर दुई वर्षदेखि खेल्न नपाइरहेका मोफसलका चार क्लबले भोट हाल्न पाउनेछन् । एन्फाको केन्द्रिय निर्वाचन असार ६ गते हुने तय भएको छ ।