राष्ट्रिय महिला लिग

एन्फा चुनावमा व्यस्त हुँदा महिला लिगमा ‘अन्योल’

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को केन्द्रिय चुनाव नजिकिँदै जाँदा मैदानको भन्दा पनि बाहिरको माहोल बढि तातिन थालेको छ । यसको प्रत्यक्ष प्रभाव प्रतियोगिताको आयोजनामा पनि पर्न थालेको छ ।

आगामी असार ६ गते हुने केन्द्रिय निर्वाचनको मिति नजिकिँदै गर्दा अहिले एन्फाबाट सदस्यता प्राप्त जिल्ला निर्वाचन धमाधम भइरहेका छन् । जसका कारण बीचमा पुगेको राष्ट्रिय महिला लिगको बाँकी खेल तालिकासमेत सार्वजनिक हुन सकेको छैन ।

घरेलु प्रतियोगितामा विभेद खेपिरहेको महिला फुटबलका प्रतियोगिता विरलै हुन्छन् । त्यसमाथि सुरु भएका प्रतियोगितासमेत अन्योलमा धकेलिँदै गएको छ ।

चितवनको भरतपुरमा चैत १० गतदेखि सुरु भएको महिला लिगको सातौं चरण सकिएको छ । बाँकी खेलहरू विराटनगरमा गर्ने एन्फाको प्रारम्भिक तयारी थियो । तर, चितवनमा हुने तय भएका सुरुआती २८ खेल सकिएको पाँच दिन बितिसक्दा पनि बाँकी खेलको तालिका सार्वजनिक हुन सकेको छैन ।

एन्फा महिला फुटबल कमिटीकी अध्यक्ष पेमा लामा चुनावी गतिविधि बढ्दै गएकाले बाँकी खेलको मिति सार्वजनिक हुन नसकेको बताउँछिन् ।

‘दोस्रो चरणको खेलको मिति सार्वजनिक हुनु पर्ने हो तर, चुनावको कारण हुन सकेको छैन,’ उनले खेलाडीसँग भनिन्, ‘अब केही दिनमा नै मिति सार्वजनिक हुने आशा छ ।’

विराटनगरमा हुने खेल तालिका सार्वजनिक भइनसक्दा महिला टिमहरू अहिले धनगढीमा जारी प्रथम राष्ट्रिय मुख्यमन्त्री विवाइसी महिला गोल्डकप फुटबल प्रतियोगिता खेलिरहेका छन् ।

कैलालीको धनगढीमा जारी मुख्यमन्त्री कप प्रतियोगिता वैशाख १० गतेसम्म चल्नेछ ।

सशस्त्र प्रहरी बलको एपिएफ महिला फुटबल क्लबका व्यवस्थापक विजय केसीले हालसम्म दोस्रो चरणको मितिबारे क्लबलाई जानकारी नभएको बताए ।

‘अहिलेसम्म हामीलाई मितिको बारेमा केही जानकारी छैन । टिम धनगढीमा जारी प्रतियोगिता खेलिरहेको छ,’ उनले खेलाडीसँग भने ।

यस्तै, महिला फुटबल टिमका टेक्निकल डाइरेक्टर हरी खड्काले दोस्रो चरणको मिति केही दिनमा नै सार्वजनिक गरिने बताए ।

‘हामीले १५ गतेदेखि दोस्रो चरणको खेल सञ्चालन गर्नका लागि प्रस्ताव गरेका छौं । भोलि, पर्सिमा मिति तय हुने आशा छ,’ खड्काले भने ।