राष्ट्रिय महिला लिग

राष्ट्रिय महिला लिग: एपिएफको सतप्रतिशत जित यात्रा कायम, वालिङ र ललितपुरले अंक बाँडे

काठमाडौं । सशस्त्र प्रहरी बलको एपिएफ क्लबले बुधबार राष्ट्रिय महिला लिगमा विराटनगर महानगरपालिलाई २–१ ले हराउँदै सतप्रतिशत नतिजासहित सातौं चरणको अन्त्य गरेको छ । चितवनको भरतपुरमा भएको सातौं चरणको अन्तिम खेलमा विराटनगरविरुद्ध एपिएफकी साबित्रा भण्डारी (साम्बा) र सरु लिम्बुले समान एक गोल गरे । विराटनगरकी इमा राईले एक गोल फर्काइन् ।

सुरुआती समयदेखि नै प्रतिस्पर्धात्मक चलेको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दुवै टोली गोल गर्ने प्रयासमा रहे पनि दोस्रो हाफको ६५औं मिनेटमा साम्बाले एपिएफलाई अग्रता दिलाइन् । त्यो लयलाई नै कायम गर्न त्यसको १० मिनेटपछि सरुले एपिएफको अग्रता दोब्बर बनाइन् ।

विराटनगरका लागि इमाले ७९औं मिनेटमा एक गोल फर्काएकी थिइन् । लिगमा सात खेल खेलेको एपिएफ सतप्रतिशत जितसहित तालिकाको शीर्ष स्थानमा छ । एपिएफले २१ अंक जोडेको छ । समान खेल खेलेको विराटनगर १० अंकसहित तालिकाको पाँचौ स्थानमा छ । यसअघि बुधबारै भएको पहिलो खेलमा ललितपुर महानगरपालिका र वालिङ नगरपालिका, स्याङ्जाले एक–एक गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

खेलको १५औं मिनेटमा हिमा रावतको गोलबाट वालिङले अग्रता लिएको थियो । तर, ६२औं मिनेटमा वालिङकी डिफेन्डर सन्जी थिङको आत्मघाती गोल स्वरुप ललितपुरले वालिङसँग १–१ को बराबरी खेल्दै खेलको अन्त्य गर्यो । महिला लिगमा समान खेल खेलेको ललितपुर चार अंकसहित छैटौं र अंकविहीन वालिङ तालिकाको पुछारमा छ । बुधबारको खेलसँगै लिगको पहिलो चरणका २८ खेलहरु समाप्त भएका छन् । 

दोस्रो चरणको खेल विराटनगरमा हुनेछन् ।