एनएसजेफ स्पाेर्टस अवार्ड

नेपाली खेलकुदको स्वर्णिम कालका नायक शाहलाई मरणोपरान्त ‘गोल्डेन सेल्युट अवार्ड’

काठमाडौं । वृहत राष्ट्रिय खेलकुद तथा दक्षिण एसियाली खेलकुद (तत्कालिन साफ र हालको साग)का जन्मदाता शरदचन्द्र शाहले नेपाली खेलकुदको श्रीवृद्धिमा गरेको योगदान उनले देहत्याग गरेको झण्डै दशकपछि मंगलबार सम्मानित भएको छ ।

राष्ट्रिय खेलकुद परिषदका पूर्व सदस्यसचिव एवं नेपाल ओलम्पिक कमिटीका पूर्व अध्यक्ष शाह नेपाली खेलकुदका सर्वकालिन नायक हुन् । उनकै नेतृत्वमा बसेको जगमा अहिले पनि नेपाली खेलकुद चलेको मानिन्छ ।

२०३४ देखि २०४५ सालसम्म परिषदको सदस्यसचिव तथा ओलम्पिक कमिटीको अध्यक्षका रुपमा नेपाली खेलकुदलाई नेतृत्व प्रदान गरेका शाहले बृहत राष्ट्रिय खेलकुद प्रतियोगिताको थालनी, अन्तर नगर खेलकुदको आयोजना तथा अन्तर्राष्ट्रिय रुपमा दक्षिण एसियाली खेलकुद प्रतियोगिताको सुरुआत गरेका थिए । अहिलेसम्म पनि नेपाली खेलकुद यिनै प्रतियोगिताहरुमा टिकेको छ ।

देशभित्रमात्र नभई अन्तर्राष्ट्रिय जगतमा समेत नेपाललाई नेतृत्वदायी भूमिकामा पुर्याउन सफल शाहकै पालाबाट देशभर पूर्वाधार निर्माणको क्रान्ति सुरु भएको थियो । परिषदमा ११ वर्ष सदस्यसचिवको रुपमा काम गर्दा शाहाले तत्कालिन पाँच वटै विकास क्षेत्रमा बहुउद्देस्सिय रंगशाला तथा सबै ७५ जिल्लामा कभर्डहल निर्माण गरेका थिए । अझैसम्म पनि धेरै हदसम्म नेपाली खेलकुद शाहाको कालमा निर्मित पूर्वाधारमा टिकेको छ ।

नेपाली खेलकुदका सर्वकालिन महान हस्ती कीर्तिमानी म्याराथन धावक वैकुण्ठ मानन्धर शाहको कार्यकाललाई नेपाली खेलकुदको स्वर्णकाल मान्छन् । भन्छन्, ‘उहाँको कार्यकाल नेपाली खेलकुदको स्वर्ण काल थियो । खेलकुदमा आवस्यक पर्ने अनुशासन, लगानी, मेहनत सबथोक थियो । उहाँ अत्यन्तै दुरदर्शी हुनुहुन्थ्यो । उहाँकै कारण त हामीले राष्ट्रिय खेलकुद र साफजस्ता प्रतियोगिता खेल्न र पदक जित्न पायौं । उहाँ अत्यन्तै तिक्ष्ण बुद्धिको मानिस हो । त्यस्तो मानिस मैले अहिलेसम्म देखेको छैन ।’

खेलाडीमा राष्ट्रियताको भावना जगाउने तथा जोश भर्ने काममा शाहाजत्तिको अर्को प्रशासक नदेखेको उनी बताउँछन् । नियमित प्रतियोगिताका साथै सधै प्रशिक्षणको व्यवस्था मिलाउन पनि उनले कुनै कसर नछोडेको मानन्धरको स्मरण छ ।

‘त्योबेला अहिलेजस्तो भद्रगोल थिएन । पूरा खेलकुद अनुसासनमा बाधिएको थियो । तालिम र प्रतियोगिताहरुको राम्रो व्यवस्था थियो । विदेशमा पनि नेपाली खेलाडी भनेपछि बेग्लै इज्जत हुन्थ्यो,’ मानन्धर भन्छन् ।

पूर्वाधार र प्रतियोगिता मात्र होइन, पदक  र रोल मोडल खेलाडीहरु विना खेलकुद अधुरो हुन्छ, यो विना खेलको विकास सम्भव हुँदैन भन्ने शाहाको बुझाई रहेको पाका खेलकर्मीहरु सम्झन्छन् । वैकुण्ठ मानन्धरजस्ता खेलाडीहरुको उदय पनि शाहाको त्यही बुझाईको उपज मान्ने धेरै छन् ।

पञ्चायतको कालमा राजपरिवारसँग निक्कै निकटको प्रभावकारी सम्बन्ध भएका शाहाले खेलकुद विकासका लागि त्यसको भरपूर प्रयोग गरेका थिए । खेलकुद विकासका लागि भनेर उनकै पहलमा उठाइने ‘खेलकुद कर’ त्यसको राम्रो प्रमाण हो । ‘खेलकुद कर’को उपयोगबाट बनेका पूर्वाधार, गरिएका प्रतियोगिता, प्रशिक्षण र अन्य गतिविधिकै कारण नेपाली खेलकुदले सुरुआति दिनमै अपेक्षित फड्को मारेको थियो ।

शाहा एसियाली ओलम्पिक काउन्सिल (ओसिए)को उपाध्यक्ष पनि भएका थिए । उनीपछि ओसिएमा यति ठूलो पदमा पुगेर समग्र एसियाको नेतृत्व गर्ने अवसर कुनै नेपाली खेल प्रशासकले पाएको छैन । 
११ वर्षसम्म विभिन्न भूमिकामा रहेर नेपाली खेलकुदलाई बेग्लै उचाई प्रदान गरेका शाहा २०४४ सालको एउटा दुःखद घटनासँगै यो क्षेत्रबाट विदा भए । झण्डै सय जनाको ज्यान जाने गरी दशरथ रंगशालामा भएको एउटा दुर्घटनापछि नेपाली खेलकुदका युगान्तकारी प्रशासकको कार्यकाल समाप्त भएको थियो ।

त्रिभुवन च्यालेन्ज शिल्डको फाइनलमा नेपालको जनकपुर चुरोट कारखाना र बंगलादेशको मुक्तिजोद्धाबीचको खेलदौरान अचानकको हावाहुरी र असिना पानीका कारण भएको भागदौडमा घटनास्थलमै ७३ जनाको ज्यान गएको थियो । उपचारका क्रममा अस्पतालमा अक्सिजनको अभावले थप मानिसले ज्यान गुमाए । कतिपय घाइतेको उपचारकै क्रममा निधन भयो । राज्यका कुनै पनि निकायमा यकिन तथ्यांक नभए पनि उक्त घटनामा सयको हाराहारीमा नेपाली समर्थकले ज्यान गुमाएको मानिन्छ ।

त्यही घटनाका कारण सायद उनले सबभन्दा बढि माया र योगदान गरेको खेल क्षेत्रमा शाहाको अध्यायमा पूर्णविराम लाग्यो । अनुशासन, नैतिकता, मेहनत र सफल नेतृत्वका पर्याय शाहाको २०६९ साल असार पाँच गते सिंगापुरमा उपचारका क्रममा मृत्यु भएको थियो ।

नेपाल खेलकुद पत्रकार मञ्चले प्रत्येक वर्ष आयोजना गर्ने एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड गत वर्ष कोभिड महामारीका कारण गतिविधि नभएका कारण यसपाली दशक अवार्डको रुपमा सम्पन्न गर्यो । यही क्रममा झण्डै दशकअघि निधन भएका शाहाको अतुलनीय योगदानका लागि उनलाई मरणोपरान्त गोल्डेन सेल्युट अवार्डबाट सम्मान गरिएको मञ्चले जनाएको छ ।