एनएसजेफ स्पाेर्टस अवार्ड

एलिना बनिन् पिपल्स च्वाइस

काठमाडौं । टेबलटेनिस खेलाडी एलिना मर्हजनले एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको पिपल्स च्वाइस जितेकी छिन् ।

एलिनाले सर्वाधिक भोट ल्याउदै पिपल्स च्वाइस अवार्ड जितिन् । एलिनाले कुल मतको ४७.८३३ प्रतिशत मत प्राप्त गरिन् ।

एलिना मर्हजन नेपाली टेबलटेनिसमा दोस्रो वरीयतासम्म पुगेकी महिला खेलाडी हुन् । उनले दक्षिण एसियाली खेलकुद सागमा लगातार दुई पदक (१२ र १३ औं) महिला टिम इभेन्टमा कांस्य पदक जितेकी थिइन् ।

उनले खेलजीवनसँगै प्रशिक्षण जीवन समेत गुरु गरिसकेकी छिन् । उनी हाल स्ट्याग च्याम्पियन्स टेबलटेनिस एकेडेमीबाट नयाँ प्रतिभा उत्पादनमा सक्रिय छिन् ।

समाजिक कार्यमा समेत सक्रिय रहँदै आएकी एलिनाले १३औं दक्षिण एसियाली खेलकुदमा पाएको पुरस्कारबाट कोभिड १९ प्रभावितलाई खाद्यान्न लगायतका सामग्री सहयोग गरेकी थिइन् । पारिवारिक पृष्ठभूमी नै टेबलटेनिस रहेकाले एलिना स्पोर्टस कल्चरमै हुर्किएकी थिइन् ।

एलिनाका दाइ राकेश महर्जन, बहिनी इरिका महर्जन, भाउजु नविता श्रेष्ठ सबै टेबल टेसिनका राष्ट्रिय स्तरका खेलाडी हुन् । नेपाली टेबलटेनिसमा पछिल्लो समय चर्चाको शीखरमा रहेकी एलिना पल्सर स्पोर्टस अवार्डको पिपल्स च्वाइस विधाको मनोनयनमा परेकी छिन् ।

‘मनोनयनमा यती ठुला खेलाडीहरुसँग पर्दा नै म खुसी थिए । आज अर्वाड नै जित्दा झनै खुसी छु । यहाँसम्म आइपुग्न सहयोग गर्ने मेरो परिवार र सबैमा धन्यवाद दिन चाहन्छु,’ अवार्ड जितेपछि एलिनाले भनिन् ।

यसपटक पिपल्स च्वाइसका लागि फुटबलकी एन्जिला तुम्बापो सुब्बा, टेबलटेनिसकी एलिना महर्जन, एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, ब्याडमिन्टनका प्रिन्स दाहाल र क्रिकेटका कुशल भुर्तेल मनोनयमा थिए ।