एल क्लासिको

एल क्लासिकोः जितविहिन लय तोड्ने लक्ष्यमा जाभी

बार्सिलोना । स्पेनिस क्लब बार्सिलोनाका मुख्य प्रशिक्षक जाभी हर्नान्डेज क्लबले रियाल मड्रिडविरुद्धको पछिल्लो जितविहिन लय तोड्ने बताएका छन् ।

बार्सिलोना स्पेनिस ला लिगामा मड्रिडभन्दा १५ अंकले पछि छ र सबैखाले प्रतियोगितामा गरी बार्सिलोनाले पछिल्लो पाँच खेलदेखि मड्रिडविरुद्ध जित निकाल्न सकेको छैन ।

यसअघि सन् १९६२ देखि सन् १९६५ सम्म गरी सात एल क्लासिकोमा मड्रिडले लगातार जित निकालेको थियो ।

यद्यपि, जाभी मुख्य प्रशिक्षकको जिम्मेवारीमा आएदेखि बार्सिलोना ला लिगाको तेस्रो स्थानमा उक्लिएको छ । जाभी आएयता बार्सिलोनाले १५ खेलबाट ३४ अंक जोडेको छ । यस दौरान लिगमा मड्रिडले मात्र बार्सिलोनाभन्दा धेरै (३९) अंक जोडेको छ ।

‘पछिल्लो समय हामी बलियो प्रतिद्वन्दीविरुद्ध राम्रो लयमा छौं । मड्रिडविरुद्ध हामी बहादुर बन्न आवश्यक छ । रणनीतिअनुसार प्रदर्शनलाई निरन्तरता दिन आवश्यक छ। र, खेलका दौरान जे पनि हुन सक्ने भएकाले शान्त रहन पनि आवश्यक छ,’ जाभीले भने, ‘मसँग सान्टियागो बर्नबेउमा केही उत्कृष्ट जित र उत्साहपूर्ण पलको राम्रो अनुभव छ । तर, सधैँ यसैले निरन्तरता नपाउन पनि सक्छ ।’

जाभीले बेन्जेमा नहुनु मड्रिडका लागि निकै ठुलो घाटा भएको समेत बताए ।

‘बेन्जेमा विश्वकै एक उत्कृष्ट स्ट्राइकर हुन् । उनी नहुनु मड्रिडका लागि नराम्रो घाटा हो । तर, हाम्रो रणनीतिमा भने यसले खासै परिवर्तन ल्याउदैन,’ जाभीले भने, ‘एन्सेलोट्टीले बेन्जेमाको अभाव कसरी पूरा गर्छन भन्ने महत्वपूर्ण प्रश्न हो । यद्यपि, उनीसँग यसको विकल्प पनि नभएको होइन ।’

बार्सिलोनाले आइतबार रियालको घरेलु मैदानमा ‘एल क्लासिको’ खेल्दैछ ।