किलियन एमबाप्पे

अर्को हप्ता रियाल मड्रिडसँग सम्झौता गर्दै एमाबाप्पे

मड्रिड । स्पेनिस म्यागाजिन ‘मार्का’ ले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) का स्ट्राइकर किलियन एमबाप्पेले अर्को हप्ता स्पेनिस क्लब रियाल मड्रिडसँग सम्झौता गर्ने खुलासा गरेको छ ।

पिएसजीले २३ वर्षीय फ्रेन्च स्ट्राइकरलाई सम्झौता नविकरणका लागि निकै दबाब दिए पनि एमबाप्पेले मड्रिडबाट खेल्ने चाहना यसअघि नै सार्वजनिक गरेका थिए ।

यता, पछिल्लो केही वर्षदेखि मड्रिडले पनि एमाबाप्पेलाई भित्र्याउन सक्दो प्रयास गर्दै आइरहेको छ । एमाबाप्पे र पिएसजीबीचको सम्झौता यसै वर्षको जुनमा समाप्त हुदैछ ।

एमाबाप्पे मोनाकोबाट सन् २०१८ मा पिएसजी अनुबन्धित भएका थिए । यस सिजन उत्कृष्ट लयमा रहेका एमबाप्पेले पिएसजीबाट सबैखाले प्रतियोगिताका ३५ खेलमा २५ गोल र १७ असिस्ट गरेका छन् ।