करिम बेन्जेमा

यो सिजन मेरो करियरकै उत्कृष्ट बन्न सक्छः बेन्जेमा

मड्रिड । स्पेनिस क्लब रियाल मड्रिडका स्ट्राइकर करिम बेन्जेमाले यो सिजन आफ्नोलागि अहिलेसम्मकै उत्कृष्ट सिजन भएको बताएका छन् ।

च्याम्पियन्स लिगअन्तर्गत अन्तिम १६ को दोस्रो लेगमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) विरुद्ध ३–२ को पुनरागमन जित निकाल्ने क्रममा मड्रिडबाट बेन्जेमाले ह्याट्रिक गरेका थिए ।

‘मलाई यो मेरो उत्कृष्ट खेल हो वा होइन थाहा छैन , किनकी मलाई अझै लिभरपुलविरुद्धको फाइनल खेल याद छ । यदी हो भने यसको कारण गोल हो । हामी २–० ले पछि पर्दा पनि कमब्याक जित निकाल्न सफल भयौं,’ उनले भने, ‘यो सिजन मेरो करियरकै उत्कृष्ट बन्न सक्छ । म प्रत्येक सिजन पछिल्लो सिजनको तुलना उत्कृष्ट प्रदर्शन गर्न चाहन्थे र यो सिजन हामीले राम्रो लय समातेका छौं ।’

ला लिगाको शीर्ष स्थानमा रहेको मड्रिडले २७ खेलबाट ६३ अंक जोडेको छ । मड्रिडलाई पछ्याइरहेको सेभियाले समान खेलबाट ५५ अंक जोडेको छ ।