अनन्त तामाङ

अनन्तको डेब्युमा इस्ट बंगाल पराजित

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका डिफेन्डर अनन्त तामाङले इन्डियन सुपर लिग (आइएसएल)मा एससी इस्ट बंगालबाट डेब्यु गरेको खेलमा उनको टोली १-० ले पराजित भएको छ । गोवास्थित तिलक मैदान रंगशालामा जारी बेङ्गलुरु एफसीविरुद्ध पहिलो रोजाईमा स्थान बनाउँदै अनन्तले कीर्तिमानी डेब्यु गरेका थिए ।

डेब्युसँगै आइएसएल खेल्ने पहिलो नेपाली खेलाडी अनन्त तामाङ बनेका छन् । यसअघि नेपाली खेलाडीहरूले आइलिगमा खेले पनि आइएसएलमा मौका पाएका थिएनन् । नेपाली घरेलु फुटबलमा लामो सयमदेखि थ्री स्टारबाट खेल्दै आएका अनन्त राष्ट्रिय टोलीका महत्त्वपूर्ण सदस्य हुन् ।

नेपाल सुपर लिग (एनएसएल)का लागि एफसी चितवनका मार्की खेलाडी चुनिएका अनन्तको इस्ट बंगाल टोली पहिलो हाफमा बेङ्गलुरुसँग १–० ले पछि परेको थियो । भारतीय कप्तान सुनील क्षेत्रीले २४औं मिनेटमा गरेको गोलसँगै बेङ्गलुरुले अग्रता लिएको थियो । सोही अग्रताको बचाउ गर्दै बेङ्गलुरुले जित सुनिश्चित गर्यो । २० खेलबाट ११ अंक जोडेको पराजित इस्ट बंगाल तालिकाको ११औं स्थानमा छ । समान खेलबाट २९ अंक जोडेको बेङ्गलुरु छैटौं स्थानमा छ । लिग लिडर जमशेदपुरको १९ खेलबाट ४० अंक छ ।