इङ्लिस प्रिमियर लिग

मानेको गोलमा लिभरपुल विजयी, सिटीसँगको दुरी छोट्याउँदै

लिभरपुल । साडियो मानेले नजिकबाट गरेको गोलमा लिभरपुल शनिबार राति वेस्ट हममाथि १–० को साँघुरो जित हासिल गर्दै इङलिस प्रिमियर लिग अंकतालिकामा शीर्ष टोली म्यानचेस्टर सिटीसँगको दुरी तीन अंकमा झार्न सफल भएको छ ।

जारी सिजनमा सबैखाले प्रतियोगितामा गरी लिभरपुललाई हराउन सफल दुईमात्र टोलीमध्येको एक वेस्ट हमले शनिबार एन्फिल्डमा पनि उच्च प्रदर्शन गरेको थियो । तर २७औं मिनेटमा मानेले गरेको गोल निर्णायक बन्दा शीर्ष चारमा रहेर सिजन टुंग्याउने लक्ष्यमा रहेको भ्रमणकारी टोलीले भने दुई राम्रा अवसर खेर फाल्दै हार स्वीकार्यो ।

लिभरपुलको यो सबैखाले प्रतियोगितामा गरी पछिल्ला १२ खेलमा ११औं जित हो । लिगमा भने टोलीले पाएको लगातार सातौं जितले आइतबार राती म्यानचेस्टर युनाइटेडविरुद्धको डर्बीका लागि तयारी गरिरहेको सिटीमाथि दबाब थपिएको छ ।

मुख्य खेलाडी मिडफिल्डर डेक्लन राइसबिना मैदान उत्रिएको वेस्ट हमलाई तेस्रो मिनेटमै गोल खानबाट गोलकिपर लुकास फाबियान्स्कीले जोगाएका थिए । मोहम्मद सालाहलाई वान भर्सेज वानको अवसरमा रोक्दै फाबियान्स्कीले टोलीलाई सुरुमै पछि पर्नबाट बचाएका थिए ।

वेस्ट हमका मिचेल एन्टोनियो र म्यानुअल लान्जिनीका प्रहार लिभरपुलका गोलकिपर एलिसनलाई छिचोल्न सफल नहुँदा भ्रमणकारी टोली कम्तिमा बराबरीबाट पनि बिमूख भयो ।