सहिद स्मारक ‘बी’ डिभिजन लिग

मिलनको निर्णायक गोलमा ब्वाइज युनियन विजयी

काठमाडौं । सहिद स्मारक ‘बी’ डिभिजन लिगमा ब्वाइज युनियन क्लबले विजयी सुरुआत गरेको छ । लिगमा ब्वाइज युनियनले बुधबार विरगंज युनाइटेडलाई १–० ले पराजित गर्यो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलबमे ६४औं मिनेटमा मिलन लिम्बुले गरेको गोल नै ब्वाइज युनियनको जितमा पर्याप्त बन्यो ।

आजैबाट सुरु भएको लिगअन्तर्गत यसअघि भएको पहिलो खेलमा श्री भगवती क्लबले झम्सिखेल युथ क्लबलाई ३–१ र दोस्रो खेलमा सरस्वती युथ क्लबले बाँसबारी क्लबलाई ३–१ ले नै पराजित गरेको थियो ।

लिगमा यस सिजन श्री भगवती र झम्सिखेलसँगै, टुसाल युवा क्लब, ब्वाइज युनियन क्लब, मध्यपुर युथ एसोसियसन, खुमलटार युवा क्लब, बाँसवारी क्लब, सरस्वती युवा क्लब, वीरगञ्ज युनाइटेड क्लब, सामाजिक युवा क्लव, रानी पोखरी कर्नर टिम (आरसिटी) नयाँबस्ती युवा क्लब, श्री कुमारी क्लब र चर्च ब्वाइज युनाइटेड क्लब १४ टोली सहभागी छन् ।

सरस्वती अघिल्लो संस्करणको शीर्ष डिभिजनबाट घटुवा भएको टोली हो । यस्तै, चर्च ब्वाइज युनाइटेड ‘सी’ डिभिजन लिग च्याम्पियनको रुपमा ‘बी’ डिभिजनमा बढुवा हुँदा वीरगन्ज युनाइटेड र सामाजिक युवा क्लब दोस्रो र तेस्रो स्थानमा दोस्रो डिभिजनमा उक्लिएका टोली हुन् ।

यसपटक लिगको शीर्ष दुईमा रहने टोली शीर्ष डिभिजनमा बढुवा हुनेछन् भने, पुछारका दुई टोली ‘सी’ डिभिजनमा घटुवा हुनेछन् ।

गत सिजन सातदोबाटो युथ क्लब ‘बी’ डिभिजन लिगको विजेता बन्दै शीर्ष डिभिजनमा उक्लेको थियो । गत हप्ता सम्पन्न शीर्ष डिभिजनबाट च्यासल युथ क्लब र ब्रिगेड ब्वाइज क्लब (बिबिसी) दोस्रो डिभिजनमा घटुवा भएका थिए ।