पोखरा रंगशाला एमएमसीको घरेलु मैदान बनाउने विषयमा छलफल

पोखरा, (खेलाडी)- नेपाली फुटबलको महारथी मनाङ मर्स्याङ्दी क्लब (एमएमसी)ले पोखरा रंगशालालाई घरेलु मैदानका रुपमा प्रयोग गर्ने प्रस्ताब गरेको छ ।

गण्डकी प्रदेशको क्लब भए पनि एमएमसीले अहिलेसम्म काठमाडौंमा रहेर फुटबल गतिविधि अगाडि बढाउँदै आएको छ । एसियाली फुटबल महासंघ (एएफसी) को नयाँ मापदण्डअनुसार क्लब लाइसेन्सिङमा जानका लागि शीर्ष डिभिजनका सबै क्लबको आफ्नै घरेलु मैदान तथा एकेडेमी हुनुपर्छ । त्यसैका लागि एमएमसीले काठमाडौंबाट पोखरा स्थानान्तरण हुने योजनासहित पोखरा रंगशाला प्रयोगको प्रस्ताब गरेको हो । 

एमएमसीको प्रस्ताबमाथि प्रदेश खेलकुद विकास समिति र क्लबका पदाधिकारीहरुबीच अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पाको समेत उपस्थितीमा छलफल चलिरहेको छ । तर कुनै निर्णय भने भइनसकेको बताइएको छ । छलफल भने सकारात्मक तरिकाले अघि बढिरहेको एमएमसीका पदाधिकारीहरुले बताएका छन् । गण्डकी खेलकुद विकास समितिले पनि एमएमसीजस्तो क्लब पोखरामा आउनुले सम्पूर्ण प्रदेशकै प्रतिष्‍ठा माथि उठ्ने सोचका साथ क्लबको प्रस्ताबलाई सकारात्मक रुपमा लिएको बताइएको छ ।

दुई वर्षअघि नेपालमा सम्पन्‍न १३औं दक्षिण एसियाली खेलकुद (साग)का लागि पुर्ननिर्माण गर्ने क्रममा पोखरा रंगशालालाई आधुनिक रुप दिइएको छ । १६ हजार ५ सय दर्शक क्षमतामा विस्तार गरिएको पोखरा रंगशाला नेपालमै दशरथ रंगशालापछि सबभन्दा सुविधायुक्त रंगशाला हो ।