ओसाकाको लक्ष्य असफल

टोकियो, (खेलाडी)- जापानकी टेनिस सुन्दरी नाओमी ओसाकाको घरेलु मैदानमा ओलम्पिक पदक जित्‍ने लक्ष्य मंगलबार टोकियो ओलम्पिक २०२० अन्तर्गत तेस्रो चरणको खेलमा मार्केटा भान्ड्रोसोभासँग पराजित भएसँगै समाप्त भएको छ । 

ओसाका भान्ड्रोसोभासँग ६-१, ६-४ को सोझो सेटमा पराजित भइन । कोभिड १९ महामारीका कारण एक वर्ष पछि धकेलिएको टोकियो ओलम्पिकमा जापानको प्रतिनिधित्व गरेकी ओसाका पराजित हुँदा अपेक्षा गरिएको जापानको स्वर्ण पदक गुमेको छ । 

चार पटककी ग्रान्ड स्लाम च्याम्पियन ओसाकाले ओलम्पिकमा पहिलो पटक सहभागिता जनाएकी हुन् । अघिल्लो चरण प्रवेशको चुनौती समाप्त भएसँगै ओसाकाले खेल सोचेजस्तो नभएको भन्दै त्यसले आफूलाई निराश बनाएको प्रतिक्रिया दिइन् । ओलम्पिकमा विश्‍व नम्बर एक एस्लेघ बार्टी र आर्यना साभलेन्का सुरुआती चरणबाटै बाहिरिएपछि पदकको प्रतिस्पर्धा रोमाञ्‍चक हुने देखिएको छ । 

सुरुआती दुई चरणका खेलमा जित निकाल्दा आयोजक जापानले ओसाकाबाट स्वर्ण पदकको अपेक्षा राखेको थियो । मंगलबार भएको प्रतिस्पर्धामा ओसाकालाई वातावरणले पनि प्रभाव पारेको थियो । पानी परिरहेको अवस्थामा खेल सञ्‍चालन हुँदा जस्ता पाताबाट आएको आवाजले उनलाई केही अवरोध भएको थियो ।