अनन्त तामाङ

अनन्तलाई अनुबन्ध गरेको इस्ट बंगालको घोषणा

काठमाडौं । इन्डियन सुपर लिग (आइएसएल) खेल्न भारत पुगेका नेपाली फुटबलर अनन्त तामाङलाई अनुबन्ध गरेको इस्ट बंगाल एफसीले औपचारिक घोषणा गरेको छ । सामाजिक सञ्जालमा अनन्तको छोटो सन्देशसहित इस्ट बंगालले नेपाली राष्ट्रिय टोलीका डिफेन्डरसमेत रहेका अनन्तलाई अनुबन्ध गरेको घोषणा गरेको छ ।

'म एससी इस्ट बंगालसँग जोडिन पाउँदा खुशी छु,' अनन्तले भनेका छन्, 'म आफूले सक्ने सम्पूर्ण माध्यमबाट क्लबलाई सहयोग गर्नेछु, मेरा लागि यो गर्विलो क्षण हो ।'

नेपाली राष्ट्रिय टोलीका नियमित सदस्यसमेत रहेका अनन्त आइएसएलका लागि अनुबन्ध हुने पहिलो नेपाली खेलाडी हुन् । घरेलु फुटबलमा पछिल्लो समय थ्री स्टारबाट खेल्दै आएका अनन्त यसै वर्ष पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा पुगेको नेपाली टोलीका महत्त्वपूर्ण सदस्य थिए ।