इङ्लिस प्रिमियर लिग

सिटी टोटनहमसँग निराश, अंक दुरी कम गर्दै लिभरपुल

लन्डन । ह्यारी केनको दुई गोलप्रेरित टोटनहमले शनिबार इङ्लिस प्रिमियर लिगको शीर्ष टोली म्यानचेस्टर सिटीलाई ३-२ ले निराश पारेको छ ।

शीर्ष स्थानको सिटी निराश हुँदा लिभरपुलले भने नर्विच सिटीलाई हराउँदै पेप ग्वार्डिओलाको टोलीसँगको दुरी ६ अंकमा झारेको छ । सिटी भन्दा लिभरपुलले एक खेल कम खेलेको छ ।

चौथो मिनेटमा डेजान कुलुभ्सिकीको गोलमा टोटनहमले अग्रता लिएको थियो । ३३औं मिनेटमा एल्के गुन्डोगानको गोलमा सिटी खेलमा फर्किएको थियो । 

५९औं मिनेटमा केनले पुनः टोटनहमलाई अग्रता दिलाएका थिए । ७४औं मिनेटमा केनले व्यक्तिगत दोस्रो गोल गर्दै  टोटनहमको अग्रता ३-१ मा पुर्याए पनि भिडियो सहायक रेफ्री भिएआरले सो गोललाई मान्यता दिएन । 

इन्जुरी समयको दोस्रो मिनेटमा रियाद महारेजले पेनाल्टीको सदुपयोग गर्दा सिटीले टोटनहमसँग अंक बाँड्ने संकेत गरेको थियो ।

तर त्यसको तीन मिनेटपछि नै केनले गोल गर्दै सिटीको सो लक्ष्यमा पूर्णविराम लगाइदिएका थिए ।

अक्टोबरमा क्रिस्टल प्यालेससँग २-० ले पराजित भएपछि सिटीको प्रिमियर लिगमा यो पहिलो हार हो ।

सिटी २६ खेलमा ६३ अंकसहित शीर्ष स्थानमा यथावत छ । जुन दोस्रो स्थानको लिभरपुल भन्दा ६ अंक बढी हो । तेस्रो स्थानको चेल्सीको ५० र चौथो स्थानको म्यानचेस्टर यनाइटेडको ४३ अंक रहेको छ ।

सिटीसँगको अंक दुरी कम गर्ने क्रममा लिभरपुलले नर्विच सिटीलाई ३-१ ले हराएको हो । 

४८औं मिनेटमा रासहिचाको गोलमा नर्विचले अग्रता लिएको थियो । ६४औं मिनेटमा साडियो मानेले लिभरपुललाई खेलमा फर्काएका थिए । त्यसको तीन मिनेटपछि मोहम्मद सलाहले लिभरपुलाई अग्रता दिलाए ।  ८१औं मिनेटमा लुइस डियाजले लिभरपुलका लागि तेस्रो गोल गरे ।

त्यस्तै चेल्सीले क्रिस्टल प्यालेसलाई १-० ले पराजित गर्यो ।