फ्रेन्च लिग वान

लिग वानमा सेन्ट एटिएन विजयी

पेरिस । फ्रेन्च लिग वानअन्तर्गत बुधबार राति भएको एक मात्र खेलमा सेन्ट एटिएन फुटबल क्लबले एन्गर्सलाई उसैको मैदानमा १–० गोलको नतिजामा पराजित गरेको छ ।

एन्गर्सको मैदानमा भ्रमणकारी एटिएनलाई जित दिलाउन घरेलु टोलीका बाटिस्टा मेन्डीले गरेको एक मात्र आत्मघाति गोल निर्णायक बन्यो ।

प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ सकिन ३ मिनेट बाँकी रहँदा मेन्डीले आत्मघाति गोल गरेका थिए । सोही गोलसँगै बनाएको अग्रताको बचाउ गर्दै एटिएनले तीन अंक जोड्यो । लिग वानको रेलिगेसन जोनमा संघर्षरत एटिएनको यो पछिल्ला पाँच खेलमा पहिलो जित हो ।

यसअघिका चारै खेलमा पराजित भएको थियो । जितसँगै २२ खेलबाट १५ अंक जोडेको एटिएन २०औं र पराजित एन्गर्स समान खेलबाट २९ अंकसहित १२औं स्थानमा छ ।