इङ्ल्यान्डलाई निराश पार्दै इटाली युरोपियन च्याम्पियन

लन्डन, (खेलाडी)- जियानलुइजी डोनारुमाले नायकको भूमिका निर्वाह गरेको खेलमा आयोजक इङ्ल्यान्डमाथि टाई ब्रेकरमा जित हासिल गर्दै इटालीले गए राति युरोपियन च्याम्पियनसिप (युरो २०२०) को उपाधि हात पारेको छ ।

लन्डनस्थित वेम्बली रंगशालामा निर्धारित समय १-१ को बराबरीमा रोकिएपछि अतिरिक्त समयमा पनि खेलले स्पष्‍ट निर्णय पाएन । टाई ब्रेकरमा डोनारुमाले दुई पेनाल्टी बचाएपछि इटाली ३-२ को नतिजाका साथ युुरो २०२० को उपाधिमा कव्जा जमाउन सफल भयो । 

ल्युक शँले युरो फाइनलको इतिहासमै सर्वाधिक छिटो समयमा गोल गर्ने क्रममा दोस्रो मिनेटमै इङ्ल्यान्डलाई अग्रता दिलाएका थिए । तर खेलमाथि नियन्त्रण भने सबै पक्षबाट इटालीले राखेको थियो । 

इटालीले पूर्ण रुपमा नियन्त्रण कायम गरेको खेलमा घरेलु टोली इङ्ल्यान्ड अत्यन्तै दबाबको सामना गरिरहेको थियो । त्यही निरन्तरको दबाबलाई गोलमा परिणत गर्ने क्रममा लियोनार्दो बोनुचीले ६७औं मिनेटमा बराबरी गोल गरे । 

पेनाल्टी सुटआउटमा वैकल्पिक खेलाडी मार्कुस रसफोर्डको प्रहार पोष्‍टमा लागेर फर्कियो भने डोनारुमाले जाडन सान्चो र बुकायो साकाको प्रहार बचाएर इटालीलाई उपाधि जिताए । इङ्ल्यान्डका तर्फबाट कप्तान ह्‍यारी केन र ह्यारी मग्वायरले गरेका पहिलो दुई प्रहार भने गोलमा परिणत भएका थिए ।

इटालीका तर्फबाट डोमिनिको बेरार्डीको पहिलो प्रहार गोलमा परिणत भएको थियो । तर आन्द्रे बेलोट्टीले गरेको दोस्रो प्रहार भने इङ्ल्यान्डका गोलकिपर जोर्डन पिकफोर्डले जोगाएका थिए । पिकफोर्डले इटालीका तर्फबाट जर्जिन्होले प्रहार गरेको पाँचौं पेनाल्टी पनि बचाएका थिए । तर उनले १९६६ को विश्‍वकपपछि पहिलो पटक प्रमूख प्रतियोगिताको उपाधि जित्‍ने इङ्ल्यान्डको लक्ष्य पूरा गराउन भने सकेनन् । 

त्यसअघि बोनुची र फेडेरिको बेर्माडेश्‍चीको प्रहार गोलमा परिणत भइसकेका थिए ।