एस्टन भिल्ला

प्रिमियर लिग मिस गरेँ: कौटिन्हो

लन्डन । एस्टन भिल्लाका ब्राजिलियन फरवार्ड फिलिप कौटिन्होले इङ्ल्यान्डबाहिर रहँदा आफूले प्रिमियर लिग र लिगका खेलहरू ‘मिस’ गरेको प्रतिक्रिया दिएका छन् । लिभरपुलका पूर्व फरवार्डसमेत रहेका कौटिन्हो सन् २०१८ मा लिभरपुलबाट स्पेनिस क्लब बार्सिलोना सरुवा भएका थिए ।

तीन वर्ष स्पेन र जर्मनीमा फुटबल खेलेर कौटिन्हो यसै जनवरी ट्रान्सफर विन्डोमा एस्टन भिल्लामार्फत प्रिमियर लिगमा पुनरागमन गरेका हुन् ।

प्रिमियर लिगमा फर्किएसँगै शनिबार राति भएको म्यानचेस्टर युनाइटेडविरुद्धको खेलमा  पहिलो पटक मैदानमा उत्रिएका ब्राजिलियन २९ वर्षीष फरवार्डले भिल्लालाई हारबाट जोगाउन बराबरी गोल फर्काएका थिए ।

‘मैले यी खेलहरू र प्रिमियर लिग ‘मिस’ गरे,’ उनले स्काई स्पोर्ट्ससँगको अन्तर्वार्तामा भने, ‘यो राम्रो सुरुआत भयो । हामी अन्तिमसम्म पनि विश्वस्त थियौं ।’

‘विगतमा धेरै उत्तर–चढावहरू भए, तर म यहाँ क्लब र प्रशिक्षकको आवश्यकता परिपूर्ति गर्न आएको हुँ,’ उनले भने, ‘म आफ्नो जिम्मेवारी पूरा गर्दै टिममेट र क्लबलाई सहयोग गर्न चाहन्छु ।’