अस्ट्रेलियन ओपन

भिसा सम्बन्धी मुद्दा हारेका जोकोभिचलाई सर्बिया फर्काइने

मेलर्बन । विश्व वरियताको शीर्ष स्थानका नोभाक जोकोभिचले वर्षको पहिलो ग्रान्डस्लाम– अस्ट्रेलियन ओपन खेल्न नपाउने भएका छन् ।

आइतबार भिसा अनुमतीको दोस्रो अपिल हारेसँगै जोकोभिचलाई अस्ट्रेलिया सरकारले स्वदेश फिर्ता गर्ने भएको हो ।

जोकोभिचको भिसा दोस्रो पटक रद्द गर्ने अस्ट्रेलिया सरकारको निर्णयप्रति शुक्रबार सर्वियन टेनिस स्टारले अदालतमा अपिल गरेका थिए । तर, यसपटक भने तीन न्यायाधिसको न्यायिक टोलीले सर्वसम्मतीमा जोकोभिचको अपिल खारेज गरिदियो ।

यसअघि पछिल्लो हप्ता अस्ट्रेलिया सरकाले जोकोभिचले स्वास्थ्य मापदण्ड उल्लंघन गरेको भन्दै भिसा रद्द गर्ने गरेको निर्णय अदालतले उल्टाएको थियो । तर, अस्ट्रेलियाका अध्यागमन मन्त्री एलेक्स हकले जोकोभिचले स्वास्थ्य मापदण्ड पूरा नगरेकाले सर्वसाधरणको स्वास्थ्यमा खतरा उत्पन्न गराएको आरोप लगाएका थिए । सोही विषयमा भएको विस्तृत छानविनपछि अस्ट्रेलिया सरकारले शुक्रबार दोस्रोपटक भिसा रद्द गरेको थिए ।

जोकोभिचले सोमबार अस्ट्रेलिया ओपनका पहिलो खेल खेल्ने तालिका थियो ।