लिभरपुल

इएफएलले लिभरपुलमाथि छानविन गर्ने

मर्सेसाइड । इएफएलले इङ्लिस क्लब लिभरपुलले आफ्नो टोलीमा कोभिड १९ संक्रमण देखिएको ‘झुटो’ अफवाह फैलाएको विषयमाथि छानविन गर्ने भएको छ । कार्बाओ कपको सेमिफाइनलमा आर्सनलविरुद्धको खेल स्थगित गराउन लिभरपुलले आफ्नो टोलीका खेलाडीका कोभिड संक्रमण देखिएको बताएको थियो ।

सुरुमा मुख्य प्रशिक्षक यर्गेन क्लोपमा संक्रमण देखिएपछि सहायक प्रशिक्षक पेप लिन्डर्समा पनि आइसोलेसनमा बसेकाले लिभरपुलले ट्रेनिङ बन्द गरेको थियो । जसका कारण आर्सनलविरुद्धको सेमिफाइनल स्थगित भएको थियो । सोही सेमिफाइनलको नयाँ तालिका सार्वजनिक गर्दा लिभरपुलले ‘होम’ ग्राउन्डको फाइदा पाएको छ ।

यद्यपि, मुख्य प्रशिक्षक क्लोपले एक जनामा मात्रै कोभिड संक्रमण पुष्टि भएको बताएका थिए । संक्रमण पुष्टि भएका एक खेलाडीमा ट्रेन्ट एलेक्जेन्डर आर्नोल्ड रहेको र बाँकी संक्रमण देखिएको बताइएका खेलाडीबारे ‘झुटो’ अफवाह फैलाएको आशंका उत्पन्न भएको छ । अन्तर्राष्ट्रि सञ्चारमाध्यमहरूले सोही विषयमा इएफएलले अनुसन्धान गर्ने बताएको छ ।